परिवारका सदस्यप्रति थिएन भरोसा, आफैँले गरे आफ्नो मृत्यु संस्कार

उनको परिवारका सदस्यहरू पनि मृत्यु भोजमा सहभागी थिए।

भारतको उत्तर प्रदेशका ५५ वर्षीय एक व्यक्तिले जिउँदै आफ्नो १३ दिने किरियाकर्म गरेका छन्। उनले त्यतिमात्र गरेनन्, आफ्नो मृत्यु भोज पनि गरे। उनको परिवारका सदस्यहरू पनि उक्त भोजमा सहभागी भए।

जीवितै १३ दिने किरियाकर्म तथा पिण्डदान गर्नुको कारणबारे बोल्दै उनी आफ्नो परिवारसँग आफ्नो भरोसा टुटेको बताउँछन्। "म मरेपछि मेरो तेह्रदिने संस्कार गर्छन् या गर्दैनन्, थाहा छैन, त्यसैले मैले अहिले नै आफ्नो सबै किरियाकर्म गरेको हो," उनले भनेका छन्।

ती व्यक्ति हुन्, उत्तर प्रदेशको एटाका हाकिम सिंह। उनको मृत्यु भोजमा गाउँका सबैजसो सहभागी थिए। उनले पण्डितलाई बोलाएर हिन्दू धर्मअनुसार विधि-विधानका साथ हवन यज्ञ आदि गरेर आफ्नो तेह्र दिने मृत्यु संस्कार गरे।

हाकिम सिंहका छोराछोरी छैनन्। परिवारमा भाइ भतिजाहरू छन्। भाइ भतिजाहरूले उनको जमिन कब्जा गरेका छन्। उनीहरूले आफूलाई पिट्ने गरेको र सम्पत्तिको लोभ गर्ने भएका कारण आफ्नो मृत्युपछि किरियाकर्म गर्लान् भन्ने विश्वास नरहेको हाकिम बताउँछन्।

सोमबार बिहान आफ्नो स्वास्थ्यमा समस्या आएपछि हाकिमले मृत्यु संस्कार गरिहाल्ने सोचे। तुरुन्तै गाउँभरि खबर पुर्‍याउन लगाए। उनको मृत्युभोजमा करिब ८०० जना सहभागी थिए।

हाकिम सिंहले बिहारकी एक युवतीसँग बिहे गरेका थिए। तर केही समय साथ रहेर उनले हाकिम सिंहलाई छोडिन्। हाकिमका सन्तान नभएका कारण उनका आफन्तले उनको जमिन कब्जा गरे। उनीहरूको व्यवहारका कारण हाकिम सधैँजसो पीडामा हुन्थे। त्यसैले उनले यस्तो कदम उठाए।

उनका अनुसार भाइ भतिजाहरू घर र पाँच बिघा खेतको लागि उनीसँग झगडा गर्छन्। उनीहरूको कुटाइले केही समय पहिले हाकिम सिंहको हातै भाँचिएको थियो।