रोमाले गर्‍यो मोउरिन्होलाई बर्खास्त

इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएसँगै रोमाले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

तस्वीर : Flickr

इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएसँगै रोमाले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

सान सिरोमा सोमबार सम्पन्न खेलमा मिलानसँग रोमा ३–१ गोल अन्तरले पराजित भएको थियो। मिलानका लागि यासिन अदली, ओलिभर जिरुड र थियो हर्नान्डेजले गोल गरेका थिए। रोमाका लागि भने लियान्ड्रो परेडेसले पेनाल्टीमार्फत सान्त्वना गोल गरे।

रोमाले मोउरिन्होलाई धन्यवाद दिएको छ। "हामी सबैको तर्फबाट जोसेलाई उनको जोस र प्रयासका लागि धन्यवाद दिन चाहन्छौँ। उनले सम्हालेको कार्यकालको सम्झना सधैँ हुनेछन्, " रोमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनको नेतृत्वमा रोमाले सन् २०२२ मा यूईएफए कन्फरेन्स लिग जितेको थियो भने गत सिजन यूईएफए युरोपा लिगको फाइनलमा पुगेको थियो।

इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम छोडेपछि मोउरिन्हो सन् २०२१ मा रोमामा आबद्ध भएका थिए। पोर्चुगिज प्रशिक्षकले आफ्नो करिअरमा पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेड लगायतका क्लब सम्हालिसकेका छन्।

यद्यपि, सिरी 'ए' मा यो सिजन उनको लागि उपलब्धिमूलक रहेन। २० खेल खेलेको रोमाले ८ जित, ७ हार र ५ मा बराबरी खेल्दै २९ अंक जोडेको छ। रोमा अंक तालिकाको नवौँ स्थानमा छ।

रोमाले पछिल्ला दुई खेलमा स्थानीय प्रतिद्वन्द्वी लाजियोसँग र मिलानसँग हार बेहोरेको थियो। रोमस्थित क्लबले यो सिजन सिरी ए मा ३४ गोल गरेको छ भने २८ गोल खाएको छ। पछिल्ला पाँच लिग खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ।