नेप्सेमा ५४ अंकको वृद्धि, ८ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा कायम भएको छ। पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– यो महिना बैंकहरूले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.५४ अंक अर्थात् २.५७ प्रतिशतले बढेर २१७५.१७ को विन्दुमा कायम भएको छ। ३०४ कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री भयो। सो क्रममा हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेका सबै सूचक तथा उपसूचकहरू हरियो देखिएका छन्। सेन्सेटिभ इन्डेक्स २.३८, फ्लोट इन्डेक्स २.७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ प्रतिशतले बढेको छ। सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै वित्त समूहको उपसूचक ४.७५ र लगानी समूहको उपसूचक ३.७० प्रतिशतले बढेका छन्।

पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ३१ लाख ५५ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार १३४ कित्ता शेयर किनबेच भएको छ।