म्याग्दीको मालिका गाउँपालिका- २ का ४९ वर्षीय भरीबहादुर पर्तेलले बाँस तथा निगालोका चोयाँबाट टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने गरेका छन्।
म्याग्दी- बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका सामग्री त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका- २ रुमको बेली गाउँमा जानुहोस्।
टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन्, रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल। विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गर्दै आएका छन्। जंगलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर उनले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला, मनिव्यागलगायतका पोशाक बनाउने र आफूले बनाएका ती पोशाक लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन्।
आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरू छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन्। शौखिन व्यक्तिहरूले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउनेसमेत गरेका छन्। “मेरो आम्दानीको श्रोत भनेकै यही कला हो। मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु," उनी भन्छन्।
पर्तेलको घरमा चार छोरा, एक छोरी र श्रीमती छन्। छोराहरू अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पति मात्र छन्। बिहान उठेर नजिकको जंगलमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामग्री बुनेर दिन बिताउने गरेका उनी चोयाका पोशाक बेचेरै वर्षमा एक लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन्। चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरूले त्यस्ता पोशाक लगाएको देखेर खुसी हुँदै पैसासमेत दिने गरेका र अहिलेसम्म त्यसरी ६० हजारभन्दा बढी कमाएको पर्तेलको भनाइ छ।
हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत एक सय दिने गरेका छन् । पर्तेल भन्छन्, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरूले मेरा पोशाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन्।”
शनिबार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाक प्रदर्शन गरेर नै उनले तीन हजार भन्दाबढी आम्दानी गरे। पर्तेलको सीपको सम्मान गर्नुपर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउँछन्।
पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी, थुन्सेलगायत घरायसी कृषि सामग्री पनि बनाउने गरेका छन्। यस्ता सामग्री गाउँघरमा फाट्ट फुट्ट बिक्री हुने गरे पनि यो पेशा व्यावसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रदर्शन तथा विक्री वितरण गर्न थालेको उनको भनाइ छ।
आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरू र प्रशासन प्रमुखलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउँछन्।
“चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उनी भन्छन्, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरूको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।” स्थानीय सरकार वा सम्बन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामग्री बनाउन सक्ने पर्तेलको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
