राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। होटल संघ नेपाल (हान) ले मंगलबार काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनबारे चासो व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर मुलुकलाई समृद्ध बनाउने कार्यमा कठिनाइ नहुने जिकिर गरे। उनले यी अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए।
“मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ हुने छैन। मलाई विश्वास छ– यो पनि चाँडै नै एयर रुट खुल्छ होला,” उनले भने।
होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरूलाई आग्रह गरे। उनले नेपालको रैथाने खानालाई सोझै कृषकहरूसँग सहकार्य गरेर पर्यटकहरूको सत्कारमा लगाउन सके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिन सक्ने बताए।
राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा मान्यता दिन हानको माग
कार्यक्रममा संघका अध्यक्ष विनायक साहले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा मान्यता दिने गरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरे।
सरकारको नीति र नियमले होटललाई सेवा व्यवसायका रूपमा हेर्दा विद्युत् लगायत अन्य सरकारी सुविधाहरूबाट वञ्चित भएको गुनासो गरे। भैरहवा क्षेत्रका होटल बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचीमा परेको उनको भनाइ थियो। उनले होटल क्षेत्रका समस्या समाधानका लागि हालको मौजुदा स्थितिको सूक्ष्म समीक्षा, सोही अनुरूपका राष्ट्रिय नीति र कार्ययोजना आवश्यक रहेको बताए।
उनले पर्यटन क्षेत्रको विद्यमान ऐननियममा सुधारको आवश्यकता औँल्याए। सरकारले घोषणा गरेको २०२३ देखि २०३२ को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष मौन रहेको उनको आरोप छ।
अध्यक्ष साहले नेपालमा ३५ लाख पर्यटक धान्न सक्ने पर्यटकीय पूर्वाधारहरू बनिसकेको भए पनि होटल ५० प्रतिशत कममा सञ्चालनमा रहेको बताए।
संघका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयामका कारण पर्यटन उद्योग राष्ट्रिय आर्थिक उन्नतिको क्रममा रहेको दाबी गरे। उनले सरकारले राष्ट्रिय राजमार्गको स्तरोन्नति, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरे पर्यटक आगमन वृद्धि हुने अपेक्षा रहेको बताए।
उनले २०२३ को पर्यटन आगमनले होटल क्षेत्रमा उत्साह थपिएको, विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको उल्लेख गरे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन ल्याउनुपर्नेमा जोड दिए।
गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले सन् २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्नका लागि सरकारसँग माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
