प्युठानले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिँदै

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए।

प्युठान– प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम शुरू गरेको जनाएको छ। 

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए। उनका अनुसार कार्यक्रम शुरू भएकै पहिलो तीन महिनामा चार लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। 

“उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम शुरू गरिएको हो,” नगरप्रमुख योगीले भने। किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ। 

नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ। दैनिक एक हजार पाँच सय लिटर दूध खपत हुने आकलन गरिएकोमा हाल दैनिक चार सय लिटर दूध संकलन हुँदै आएको छ। 

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक एक सय ५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए। सहकारीले त्रैमासिक रूपमा प्रतिवेदन पेस गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ। “हामीले पेस गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ,” अध्यक्ष पाण्डेले भने। 

नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध संकलन गर्ने उक्त सहकारीको योजना छ। भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध संकलन गर्न नसकिएको पाण्डेले जानकारी दिए। 

स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको संकलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिए। सहकारीमा दैनिक २५० लिटरसम्म दूध संकलन हुँदै आएको छ। दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ।