तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्मे

तीनजुरेडाँडा, फेदी, मंगलबारे र गुफापोखरी हिउँले सेताम्मे भएका छन्। हिमपात भएपछि यहाँ झापा, मोरङ, सुनसरी तथा भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्।

म्याङलुङ– हल्का वर्षा भएसँगै तेह्रथुम, संखुवासभा, ताप्लेजुङको संगमस्थल  तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ।

गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन। सो क्षेत्रमा मंगलबार राति वर्षासँगै हिउँ परेको हो।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मंगलबारे र गुफापोखरी हिउँले सेताम्मे भएको स्थानीय होटल व्यवसायी श्री कार्कीले बताए। गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्। यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल बुकिङ गरिरहेको होटल व्यवसायी कार्कीले बताए। उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्। गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ।  

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथीभरा मन्दिर, मंगलबारेबाट माथि पाथीभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन्। विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए। 

वसन्तपुरबाट छ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक छ। तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथीभरा मन्दिर, मंगलबारे, पाँच पोखरीलगायत पर्यटकीय क्षेत्र हुन्। लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका–१ का भरतसिं गुरुङको भनाइ छ। 

तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुनबाबु मावोहाङले बताए। पाँचपोखरी छेउमा गुराँसको पार्क बनाउन ठेक्का लागिसकेको र तीनजुरे सामुदायिक वनले गुराँसका बिरुवा रोपिरहेको उनको भनाइ छ।

नगरपालिकाको समन्वयमा विभिन्न दाताको सहयोगमा वसन्तपुरमा निर्मित चोत्लुङ उद्यानमा दैनिक ५०० पर्यटक घुम्न आउने गरेको पनि नगरप्रमुख मावोहाङले बताए।

चोत्लुङ उद्यानमा बनेका पुराना घर, ढिकी, जाँतो, कुवा र संकलन गरेर राखिएका पुराना सामग्रीको संग्रहालय हेरेर पर्यटक मोहित हुने गरेका छन्।