ललितपुर–१ मा नवराज सिलवाल हजार मतले अगाडि

साढे आठ बजेसम्म कूल नौ हजार ७७१ मत गन्दा एमालेका नवराज सिलवालले चार हजार ६१२ मत प्राप्त गरेका छन्।

ललितपुर – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

आज राति साढे आठ बजेसम्म कूल नौ हजार ७७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का नवराज सिलवालले चार हजार ६१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले तीन हजार ६१३ मत प्राप्त गरेका छन्।

ललितपुर क्षेत्र नम्बर १ (१) प्रदेशसभा सदस्यतर्फ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहालले तीन हजार ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मधुसुधन पौडेलले दुई हजार छ सय ८५ मत प्राप्त गरेका छन्। 

ललितपुर क्षेत्र नम्बर १(२) मा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका मीनकृष्ण महर्जनले तीन हजार चार सय ९३ मत प्राप्त गरी अग्रता लिएका छन्। महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले तीन हजार १० मत प्राप्त गरेका छन्।