विभिन्न ब्रान्डका नक्कली मदिरा बेचबिखनमा संलग्न ९ जना पक्राउ

उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको  प्रहरीले जनाएको छ।

काठमाडाैँ– काठमाडौँमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरणमा संलग्न गिरोह पक्राउ गरेको जानकारी गराएको हो।

काठमाडौँको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेले बताए। पक्राउ पर्नेहरूमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडाैँ कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय अर्का लेखविक्रम थापा रहेका छन्।

त्यसैगरी रामेछापका २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ। उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ। डीएसपी घिमिरेका अनुसार मनोज खत्री तेस्रोपटक पक्राउ परेका हुन्। यसअघि उनी यही अपराधमा पहिलोपटक ५० हजार धराैटीमा छुटेका थिए भने दोस्रोपटक फरार रहेका थिए। यस्तै, विनोद कार्की, मोहन खड्का, गाैरव तामाङ पनि यसअघि पटक पटक पक्राउ परिसकेका उनले बताए। 

उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको डीएसपी घिमिरेको भनाइ छ। डीएसपी घिमिरेले नक्कली मदिराहरू बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताए।

"खुकुरी रम, गोल्डेन वेक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक र यो मदिरा बनाउन प्रयोग गरिने विभिन्न सामानहरू, सगुन ब्राण्डको मदिरा, चिनी मिश्रित तरल पदार्थ, रक्सीका खाली बोत्तलहरू, आन्तरिक  राजश्व विभागको अन्तःशुल्क स्टिकरहरू, लेबलिङ गर्ने सामानहरू, यसको प्याकेजिङ गर्ने सम्पूर्ण सामानहरू बरामद गरिएको छ," उनले भने, "नक्कली मदिरा बनाउन प्रयोग गरिने सामग्रीहरूमा हामीले के पायौ भने चिनी, पानी, मिश्री तरल पदार्थ। चिनी र पानी मिसाउने अनि कालो हुनेगरी त्यसलाई पकाउनु हुँदो रहेछ। त्यो पाक्दाखेरी जुन त्यो रमको कलर आउँछ। त्यो कलर निकाल्नका लागि एकदम पकाउने र डढाउने गर्नु हुँदो रहेछ।"

प्रहरीले उनीहरूको साथबाट नक्कली खुकुरी रमका २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको छ।