खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।
काठमाडौँ– कैलालीका शुक्रराज स्वार करिब चार वर्षदेखि काठमाडौँको मैतीदेवीमा तीन बालबच्चा र श्रीमतीसँग बस्दै आएका छन्। उनी केही महिना अघिसम्म गौशालास्थित माउन्ट मर्सी कन्सल्टेन्सीमा काम गर्थे। त्यहाँको कमाइले मात्र नपुग्ने भएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाए।
त्यस कन्सल्टेन्सीमा आउने रितेश केसीसँग चिनजान हुनु र विश्वासमा पर्नु नै उनका लागि घातक भयो। केसी आफू माल्दिभ्स जान खोज्दा मेडिकल फेल भएका थिए। त्यसैले नक्कली कागजपत्र बनाउन त्यहाँ आएका थिए। सामान्य चिनजान भएका उनले अमेरिका पठाइदिने भनेपछि स्वारले गएको असार २५ गते ७ लाख रुपैयाँ दिए। त्यसमध्ये ६ लाख उनले ऋण गरेका थिए। तर पैसा लिएदेखि नै केसी बेपत्ता भए।
स्वारका अनुसार केसीले आफ्नो पहुँच माथिसम्म भएको भन्दै खेलाडीहरूको ‘असिस्टेन्ट’ बनाएर विभिन्न देश पठाउन सक्ने बताएका थिए। आफ्ना बुवाको कारण आफूले पहुँच बनाएको उनले बताएपछि स्वारले विश्वास गरे। उनलाई पनि असिस्टेन्ट नै बनाएर अमेरिका पठाइदिने केसीले आश्वासन दिए।
“उसले शुरूमा आफ्नी सासू अमेरिका जाँदै गरेको र उनीसँग केयर गिभरका रूपमा परिवारको एक जना जान मिल्ने हुँदा मिलाएर पठाइदिन्छु भन्यो। पछि, त्यसरी पठाउन नमिल्ने भएको भन्दै खेलाडीहरूको असिस्टेन्ट बनाएर पठाइदिने भनेको थियो,” उनी भन्छन्।
केसी आफूले नभई आफ्नो बुवाले अमेरिकालगायत देश पठाइदिने गरेको बताउँथे। उनले कागज गरेरै पैसा लिएका थिए। खेलाडीहरू जुनसुकै बेला विदेश जानसक्ने भन्दै हतारमा काम गर्न लगाएका थिए। समय यकिन नभए पनि डेढ महिनाभित्र सबै प्रक्रिया पुर्याएर अमेरिका पठाइसक्ने आफूलाई आश्वासन दिएको स्वार बताउँछन्।
कागजमा झूटो विवरण
केसीले स्वारबाट ७ लाख रुपैयाँ मात्रै लिए पनि कागजमा ५० लाख लिएको उल्लेख गरिएको छ। पहिलो बुँदामा एक वर्षभित्र रकम नतिरे ललितपुरको चापागाउँमा रहेको केसीको स्वामित्वको १ रोपनी ७ आना जग्गा खरिद गरी लिन पाउने लेखिएको छ। त्यस बुँदामा भनिएको छ, “प्रथम पक्षको नाउँमा ललितपुर जिल्ला चापागाउँ गाविस वडा नं. ६ को कि.नं. २४६ को १–७–०–० जग्गा चलनचल्तीको मूल्य रु. १७०,०००,००० (सत्र करोड रुपैयाँ) को जग्गा दोस्रो पक्षले खरिद गरी लिन पाउने गरी मञ्जुर भएको छ।”
दुई नम्बर बुँदामा दोस्रो पक्षले बैनाबापत ५० लाख रुपैयाँ नगदै लिएको पनि उल्लेख छ। तर सहमतिमा उल्लेख भएबमोजिम उक्त कित्ताको कुनै जग्गा नै नभएको स्वार बताउछन्। “सहमतिपत्र नै गरेको छ, नभए १७ करोडको जग्गा छ भनेर विश्वास गरियो। तर त्यो कित्ता नम्बरको कुनै जग्गा नै छैन। न त पैसा फिर्ता पाएँ, न त जग्गा नै,” उनी भन्छन्।
बुवाको आडमा छोराको बदमासी!
रितेशका बुवा कृष्णप्रसाद केसी नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको श्रम सम्बन्ध परिषद्का सचिव हुन्। साथै उनी एमाले नेता महेश बस्नेत सांसद हुँदा उनको स्वकीय सचिव रहेको भनेर रितेशले बताउने गरेको स्वारको भनाइ छ। “बुवा राजनीतिमा सक्रिय रहेको र कतिपयलाई विभिन्न देशमा पठाइसकेको बताउने गरेको थियो,” उनी भन्छन्। तर बस्नेत निकट एमालेका एक नेताले कृष्णबहादुर त्यसबेला सचिवालयमा नभएको बताए।
बुवाको आडमा रितेशले ठगी धन्दा चलाइरहेको स्वारको आरोप छ। बुवा कृष्णबहादुरले भने रितेश आफ्नो छोरा नभएको बताउने गरेको उनको भनाइ छ। तर पैसा लिनुअघि रितेशले बुवाको निर्देशनमा नै काम गरेको बताउने गरेको र सहमतिको कागजमा पनि तीनपुस्ते लेख्दा कृष्णबहादुरलाई बुवा उल्लेख गरेर ठेगाना पनि राखेको स्वार बताउँछन्।
“पहिले प्रत्येक काम आफ्नो बुबासँग सोधेर गर्ने बताउँथ्यो। रकम लिँदा पनि बुबाले क्यासमै लिनु भन्नुभएको भन्थ्यो,” उनी भन्छन्, “छोरा पैसा लिएर सम्पर्कविहीन भयो भनेर उसको घर जाँदा आफ्नो छोरा नै नभएको र पैसा जसले लिएको उसैलाई सोध्नु भन्छन्।”
स्वारले नेपाल ट्रेड युनियन महासंघमा ठगी भएको रकम असुलीका लागि सहयोग गर्न आग्रहसहित निवेदन पनि दिएका छन्। महासंघका महासचिव लक्ष्मण शर्मा अहिले सचिव केसी उपत्यकाबाहिर भएकाले यस सम्बन्धमा केही खुल्न नसकेको बताउँछन्। “सचिवज्यू काम विषेशले उपत्यकाबाहिर हुनुहुन्छ, त्यसैले भेटेर यसबारे कुरा गर्न पाएका छैनौँ। उहाँ काठमाडौँ आएलगत्तै बैठक बसी सत्यतथ्य बुझेर महासंघको तर्फबाट गर्न सक्ने काम गर्छाैं,” उनले भने।
यस विषयमा बुझ्न बुवा कृष्णबहादुरसँग सम्पर्क गर्न खोज्दा हुन सकेन। तर आमा हिराले भने आफ्नो छोरा १५ वर्षको उमेरदेखि नै लागुऔषधको दुर्व्यसनीमा लागेर गलत काम गर्दै हिँडेको बताउँछिन्। त्यही कारण रितेशसँग परिवारको राम्रो सम्बन्ध नरहेको उनको भनाइ छ।
आमा हिरा भन्छिन्, “झण्डै पाँच वर्षपछि गत असारमा घरमा आएको हो, उहाँहरूसँग पैसा लिएपछि घर नै आएन, पैसा लिएको पनि पछि मात्रै थाहा भयो।”
यस घटनामा आफुहरूको कुनै संलग्नता नभएको र कानूनी रूपमा सहयोग गर्न तयार रहेको आमा हिराको भनाइ छ। यसअघि पनि रितेशले धेरै वटा फट्याइँ गरिसकेको उनी बताउँछिन्।

स्वारले आफू ठगिएको थाहा पाएपछि करिब चार महिनाअघि वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले ठाडो उजुरीको रूपमा जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाएको थियो। त्यसयता अनुसन्धान गरिरहेको प्रहरीले रितेशलाई सम्पर्कमा ल्याउन सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेल आरोपीलाई सम्पर्कमा ल्याउने कोशिश गरिरहेको बताउँछन्। उनी भन्छन्, “पीडितलाई हामीले करारनामा बदर गरिपाउने सम्बन्धमा अदालतमा जान भनेका छौँ। अदालतबाट पक्राउ पुर्जी आदेश आएपछि आवश्यक कदम चाल्छौँ।”
आर्थिक अभावका कारण आफू अदालती प्रक्रियामा जान नसकेको स्वार बताउँछन्। “अदालतमा जाँदा आधाभन्दा बढी पैसा खर्च हुने देखियो, मैले त ऋणपान गरी जुटाएर दिएको थिएँ। खर्च हुने तर पक्राउ पर्ने ग्यारेन्टी पनि नभएपछि मलाई झन् समस्या हुने भयो,” उनी भन्छन्, “अब केसीका बुबाआमाबाट नै केही आस छ, कानूनी हैन समान्य मिलापत्र नै गरिए पनि म खुशी हुन्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
