केपी ओली कपका विजेताले ११ लाख रुपैयाँ पाउने

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख तथा उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।

काठमाडौँ– दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पाउने भएका छन्।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। गत संस्करण मच्छिन्द्र फुटबल क्लबले फाइनलमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटकको प्रतियोगिता फागुन ११ गतेदेखि शुरू हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरूको सहभागिता रहने छ।

फाइनलबाहेक प्रतियोगिताका सम्पूर्ण खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा हुनेछन्। फाइनल खेल भने फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पाउने छन्। यस्तै, उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख तथा उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको हरेक खेलमा विजयी हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। हरेक खेलको 'म्यान अफ दी म्याच'ले नगद १५ हजार रुपैयाँ पाउने छन्।