गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।
म्याग्दी– भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत्त लाहुरेको पहिचानमा सीमित हुन्थे। बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्तीर्ण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपांगता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडियो।
वि.स २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपांगता भए। लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उनका पाइला भिरबाट लर्किएपछि अधुरा रहे नै साथै उनको परिवारमा संकट, अभाव र समस्या झनै झांगिने निश्चित भयो।
आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपांगता भएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भएका छन्।
ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पुग्छन्, तब युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नचाउने गर्छन्। परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षण हुने गीत तयार पारेका छन्।
दुःखसुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्बुजालाई नयाँ कलाकारले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रूपमा चिन्ने गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्माले बताए।
“संघर्षको भूमरीबाट फर्किएको सुन्दर फूल जस्तै हो उहाँ। गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकालाई अभिलेख गराउने र राष्ट्रियस्तरमै पहिचान गराउन उहाँले सिर्जना गरेका गीतसंगीतले ठूलो योगदान पुर्याएका छन्,” उनले भने।
शारीरिक रूपमा अपांगता रहेका गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारका रूपमा परिचित छन्। हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका उनको गायनयात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट शुरू भएको थियो।
“परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो। भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ। त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिएँ। पहिलो चरणमा उत्तीर्ण भएर गाउँ गएको थिएँ, घाँस काट्न भिरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो। त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ मर्यो,” गायक गर्बुजाले भने।
बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गए पनि ढिला गरी अस्पताल आएकाले पूर्णरूपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रूपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थालेको बताए। उनका दाइसमेत सानै उमेरमा रुखबाट खसेर अपांगता थिए।
“घरका दुई छोरा त अपांगता बन्याै। त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो। हामी दुई अपांगता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुनःस्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ,” गर्बुजाले भने। घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी बनेको उनी स्मरण गर्छन्।
बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन संघर्ष शुरू गरेका थिए। विसं २०४७ मा पुनर्स्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ पुगेका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पाए।
रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसंगीतबाटै आफूलाई अघि बढाउने संकल्प गरेका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो।
“फोनको सुविधा थिएन, चिठी पठाउनुपर्थ्यो घरको हाल खबर बुझ्नलाई। मैले पहिलो गीत ‘दुःखको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ”, गर्बुजाले विगत सम्झिए।
करिब ९०० गीतमा स्वर भरेका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो सांगितिक प्रस्तुति राखेका छन्। गायन संँगसँगै बाध्यबाधनतर्फसमेत सिपालु गर्बुजाले वि.स २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर वाद्यवादनको कामसमेत गर्दै आएका छन्। लोपोन्मुख नेपाली मौलिक मौरी बाजाका संरक्षकसमेत रहेका उनले मादल, बाँसुरी, हार्मोनियम लगायतका वाद्यवादनसमेत बजाउँछन्।
विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन्। हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रूपमा सम्मानित गरेको छ। “अपांगता भएपछि केही गर्न सकिँदैन भन्ने भाष्यलाई उनले गलत सावित गरिदिएका छन्। निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्बुजा बन्नुभएको छ,” धवलागिरि गाउँपालिकाका उपाध्यक्ष प्रेम पुनले भने।
गाउँमा कक्षा ६ सम्मको अध्ययन गरेका गर्बुजाले काठमाडौँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याएनन्, बीचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता पनि दिए। उनका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् भने उनी हाल श्रीमती र बुबासँग काठमाडौँमा बसोबास गर्छन्। वाद्यवादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र सांगितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
