असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगान्डातर्फ

असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डाको राजधानी कम्पालामा हुँदैछ। नेपाल यसको संस्थापक सदस्य हो।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा भाग लिन युगान्डा प्रस्थान गरेका छन्। उनी बिहीबार बिहान कतार एयरलाइन्सबाट त्यसतर्फ गएका हुन्। 

सम्मेलन माघ ५ र ६ गते युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल, उनकी छोरी गंगा दाहाल र सरकारका वरिष्ठ अधिकारी सहभागी छन्। 

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। 

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्रप्रमुख, सरकारप्रमुख र अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गर्ने बताइएको छ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो। यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो।

प्रधानमन्त्री दाहालको टोली माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम छ।