एकैवर्ष लोकसेवाको ५ परीक्षामा उत्तीर्ण भइन् मनीषा

जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।

रेसुंगा– गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्र उत्तीर्ण गरेकी छन्।

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

उनी कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण भएकी हुन्। 

“सानैदेखि नर्सिङ पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,” उनले भनिन्, “जागिरसँगै लोकसेवा तयारी गरेँ। सफलता पाएँ। खुशी लागेको छ।” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ। 

“स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ,” उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ। विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।” पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई उनले धन्यवाद दिइन्।

माध्यमिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन्। स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा उत्तीर्ण गरिन्। त्यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी थिइन्।