भक्तपुरमा शुरू भयो मल्लकालीन ङालाकेगु जात्रा

नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले प्रचलनमा ल्याएका हुन्।

भक्तपुर– मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर–९ सूर्यमढीबाट शुरू भएको छ।

नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी दिए। 

यो जात्रा भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायत स्थानमा फरक–फरक दिनमा प्रदर्शन गरिन्छ।

उनका अनुसार नवदुर्गा नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ देवगणले नवदुर्गा नाच नाच्ने यो परम्परा धान्न नवदुर्गाका १९ देवगण रहने गर्छन्। यसमा भैरव, महाकाली, बाराही, गणेश, बह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन्।

परम्परागत वेशभूषामा बाजाको तालमा देवताका प्रतीकका रूपमा देवगणले नांगो खुट्टाले नै सो नाच प्रदर्शन गर्ने गर्छन्। जात्रामा नाचका लागि आर्थिकलगायत विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने माग देवगणले गरेका छन्। नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले प्रचलनमा ल्याएको इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

मल्लले नेपाल संवत् ६३३ मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तान्त्रिक विधिअनुसार दैवी शक्तिको आव्हान गरेर नवदुर्गा नाचको प्रचलन चलाएको जानकारी दिए।