आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ: ऊर्जामन्त्री

लगानीकर्तालाई सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको ऊर्जामन्त्री बस्नेतको दाबी छ।

काठमाडौँ– ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन्। 

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले विद्युत् उत्पादन गर्न सम्भव रहेको बताएका हुन्। 

आउँदो १० वर्ष ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण अवसर बन्ने र सरकार सोही लक्ष्यअनुसार अघि बढिरहेको मन्त्री बस्नेतले बताए। “अब यो १० वर्ष, नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ। हाम्रा सामु नयाँ सम्भावना र चुनौती पनि छन्,” उनले भने, “सम्भावनाका दृष्टिले हेर्दा आगामी १२ वर्षमा हामीले २८ हजार ७०० उत्पादन गर्न सक्दैनौँ भन्नेकुरा होइन।”

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बताए। लगानीकर्तालाई सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको उनको भनाइ थियो।