माघ तेस्रो सातादेखि उत्पादन शुरू गर्ने हेटौँडा सिमेन्टको योजना

उद्योगलाई नियमित उत्पादन शुरू गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्छ। अहिले उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला छ।

मकवानपुर– कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन शुरू गर्ने योजना बनाएको छ। 

आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग मन्त्रीसमक्ष केही अनुदान उपलब्ध गराउन अनुरोध गरिएको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए। 

सिमेन्ट उत्पादन गर्न आर्थिक संकटका कारण कठिनाइ बेहोर्नुपरिरहेको उनको भनाइ छ। उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अवरोध उत्पन्न भएको जनाएको छ।

उद्योगलाई नियमित उत्पादन शुरू गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने पाण्डेले बताए। 

उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला रहेको छ। उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न शहरमा बिक्री हुन नसकेकाले आर्थिक संकट आइपरेको कर्णले बताए।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको अनुगमन गरेका थिए। त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउने आश्वासन दिएका थिए। 

सिमेन्ट उत्पादन गर्ने दैनिक लक्षय १६ हजार बोरा रहेको भए पनि विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन हुने गरेको पाण्डेले बताए। २०३३ सालमा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा २०४३ मंसिर २६ देखि व्यावसायिक उत्पादन थालेको थियो। 

अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी १५० भन्दा बढीले रोजगारी पाइरहेका छन्। मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याए मात्रै उद्योगलाई आर्थिक संकटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए।

यो उद्योग नियमित सञ्चालनमा आए देशको सिमेन्ट आपूर्तिमा ३० प्रतिशतले सहयोग पुग्ने उनको भनाइ छ।