पाकिस्तानले गर्‍यो इरानमाथि जवाफी हमला, दुई देशबीच तनाव बढ्नुको यस्तो छ कारण

इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।

प्रतीकात्मक तस्वीर/रोयटर्स

इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले जवाफी हवाई आक्रमण गरेको छ। इरानमा रहेका आतंकवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको पाकिस्तानी विदेशमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृंखलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ।”

पाकिस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागिसमेत बोलाएको थियो। तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतंकवादी समूह’ विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो।

यी दुई देशबीच ९०० किलोमिटर सीमा क्षेत्र जोडिएको छ। तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ।

इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीहरूले लालसागरमा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समय इरानको आक्रमणले मध्यपूर्वमा थुप्रै संकटहरू थपेको छ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए। यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताएका छन्।

यसैबीच संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ भने विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लंघन गरेको बताएका छन्।

पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ भएको थियो भन्नेबारे केही बताइएको छैन तर पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुर नजिकै भएको थियो।

आक्रमण हुनुभन्दा केही घण्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए। 

“पाकिस्तानको सार्वभौमिकताको यो उल्लंघन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुन सक्छ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ।

कस्तो समूह हो जैश अल–अदल
जैश अल–अदल एक सुन्नी चरमपन्थी समूह हो। यो संगठनले आफूलाई इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा सुन्नी अधिकारको रक्षकको रूपमा वर्णन गर्दछ। 

पछिल्ला केही वर्षहरूमा, यो इरानी सुरक्षा बलहरूसँग रक्तरंजित द्वन्द्वमा संलग्न छ र समूहले इरानमा धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ। अमेरिकी राष्ट्रिय खुफिया निर्देशकका अनुसार, समूह, जैश अल–अदल, इरानको सिस्तान–बलुचेस्तानमा सबैभन्दा सक्रिय र प्रभावकारी सुन्नी चरमपन्थी संगठन हो। 

यस संगठनको नाम जुन्दाल्लाह हुन्थ्यो तर सन् २०१२ मा यसको नाम परिवर्तन भयो। नेसनल इन्टेलिजेन्स वेबसाइटका अनुसार यसलाई 'पीपल्स रेजिस्टेन्स अफ इरान' पनि भनिन्छ।

अब्दुल मलिक रेगीले सन् २००३ मा यो संगठन बनाए र धेरै वर्षसम्म यसको नेता रहे। इरानले उनलाई सन् २०१० मा पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएको थियो ।

सलाहुद्दीन फारुकी सन् २०११ देखि यस समूहको नेता हुन् र जैश अल–अदलले उनलाई अमिरु र बलुचिस्तान जिहाद को नेता भन्छन्। इरानले उक्त समूहलाई साउदी अरेबिया र अमेरिकी गुप्तचर निकायसँग जोडिएको आतंकवादी संगठन मानेको छ। यसलाई 'जैश अल–जुल्म' भनिन्छ।