लगातार दोस्रो दिन ओराल्यो लाग्यो शेयर बजार

बुधबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार ७.२४ अंकले घटेको छ।

काठमाडाैँ– शेयर बजार लगातार दोस्रो दिन बिहीबार पनि ओरालो लागेको छ। बुधबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा झरेको छ।

बिहीबार २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार कित्ता शेयर ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ।

फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेको छ। बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ।

तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।