उत्तर–दक्षिण राजमार्गको काम सरकारको प्राथमिकतामा

यी राजमार्गले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकतामा राखिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

काठमाडाैँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन्।

बिहीबार सिंहदरबारस्थित संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन्।

मन्त्री ज्वालाले ती राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धतासमेत व्यक्त गरे। उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्गले जनतालाई सास्ती नहुने भन्दै त्यसको निर्माण कार्य पनि अघि बढाउने आवश्वासनसमेत दिए।

"पूर्व–पश्चिम सडक चाँही अलि पर्याप्त भइसके भन्ने लाग्छ मलाई। कम्पिलिट गर्नुपर्ने त छ नै। पूर्व–पश्चिम राजमार्ग छँदैछ। त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ। यसलाई पनि हामीले ४ लेन र ६ लेनमा स्तरोन्नति गर्ने हो। हुलाकी राजमार्ग पनि त्यही हुने भयो। भित्री मधेशलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग। त्यो पनि पूर्व–पश्चिम नै थ्रु आउट हुने हो। त्यो भन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छँदैछ। त्यो पूर्वपश्चिम खुली नै सक्यो। त्यसको बाँकी ठाउँमा स्तरोन्नति गर्नुछ। अनि चारवटा ठूल्ठूला सडकहरू बनिसकेका छन्। तयारी भएका छन्। भनेपछि पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठूलो समस्या अब हुन्छ जस्तो लाग्दैन, त्यसैमा फेरि जो पूर्व–पश्चिम रेल वे छ। अब हामीले यसको निकास निकाल्नु पर्छ," उनले भने, "अब हामीले ध्यान दिनुपर्ने भनेको उत्तर–दक्षिण करिडोरमै हो। किनकी उत्तरदक्षिण करिडोर भनेको इकोनोमिक करिडोर पनि हो। यी त्रिदेशीय लिंक रोडहरू पनि हुन। उत्तर–दक्षिण सडकहरूलाई अब हामी उच्च प्राथमिकतामा राख्छौँ। अब बनिरहेको १६औँ योजनामा पनि हामी त्यही ढंगले आयोजनाहरूको तय गर्छौं। तीनवटा करिडोरहरू त छँदैछन् अत्यन्तै महत्त्वपूर्ण। त्यसबाहेक महाकाली करिडोर, सेती राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, घुर्मी–कटारी–सोलु राजमार्ग, अरनिको राजमार्ग पनि छन्। अब हामी त्यतातिर कामलाई केन्द्रित गर्छौं।"

बैठकमा बोल्दै समितिका सदस्यहरूले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिए। उनले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्ने आवश्यक्ता औँल्याए।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की (आछामी)ले  देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए। उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए।