भीड नियन्त्रणमा हतियारको प्रयोगबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार अदालतले लिखित जवाफ माग गरेको हो।

काठमाडौँ– भीड नियन्त्रणमा प्रयोग गरिने हतियारको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने ‘मेटल बुलेट’ जस्ता प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुस २९ गते सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार अदालतले लिखित जवाफ माग गरेको हो।

न्यायाधीश कुमार चुडालको इजलासले नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयसँग लिखित जवाफ माग गरेको अधिवक्ता त्रिपाठीले बताए।

“भीड नियन्त्रणका लागि प्रयोग गरिने मेटल बुलेट वा प्राणघतक (लिथल विपन) हतियारको प्रयोगले निर्दोष नागरिकहरूले ज्यान गुमाएकाले  निहात्था नागरिकमाथि घातक हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न माग गर्दै मैले रिट निवेदन पेश थिएँ, सो रिटको आज अदालतले सरकारसँग लिखित जवाफ मागेको छ,” उनले भने।

ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षाका विद्यार्थीले पुस १३ गते बालकुमारीमा गरेको आन्दोलनमा प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा दुई जनाको ज्यान गएको थियो। उक्त घटनापछि प्रहरी प्रमुख वसन्त कुँवर आफैँले भीड नियन्त्रणमा म्याद गुज्रेको हतियारको प्रयोग गरेको स्वीकारेका थिए।