बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।

परिङाल– फोनको नेटवर्कले काम नगरेको एक साता भएको थियो। पारु गिरीलाई निन्द्रा लागेन। उनले छोराबुहारीको हालखबर बुझ्न सकेकी थिइनन्। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सन्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। 

उनी शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन्। गत भदौको उहाँको पीडा सुनेर एकछिन माहोल नै चिसियो। सबै जना आश्चर्यचकित भावमा देखिए। “हाम्रा लागि परदेशिएकाको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उनले भनिन्। 

उनी दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन्। नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन्। छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन्। उनले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाइन्। 

यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ। “आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,” छिमेकी चन्द्रा गिरीले भनिन्, “परदेशिएकालाई केही नहोस् भनेर दियो बालिरहन्छौँ। भगवान्‌को आराधना गरिरहन्छौँ। चिन्ता बैङ्लोरकै हुन्छ।” 

उनहाँका अनुसार परिङालमा ८० परिवार छन्। झन्डै ४०० जनसंख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ। काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन्। “प्राकृतिक विपद्‌बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,” उनले भनिन्, “कतिपयले भारतमा संघर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके। कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन्।”

चन्द्राका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर संघर्ष गरिरहेका छन्। घरमा बालबालिका तथा वृद्धवृद्धा मात्र छन्। काम गर्नसक्ने मान्छे कोही छैन। पहिले कोही पनि भारत जाँदैन थिए। “गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो। अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो। त्यसपछि गाउँ नै चौपट भयो,” उनले सुनाइन्। चन्द्राको घरमा नौजना छन्। गाउँमा भने अहिले चारजना मात्रै छन्। “छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो। नत्र मेरो उमेरका कोही गाउँमा बस्दैनन्। सबै बैङ्लोरमा गएर कमाउँछन्,” उनले भनिन्। 

परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन्। आफूले सामाजिक सुरक्षा भत्ता खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उनले सुनाइन्। “भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उनले भनिन्, “सबै कमाउने उतै छन्। उनीहरूले कमाएको पनि खानलाई बराबर हुन्छ।”

पेट पाल्नकै लागि विदेश जानेको संख्या बढेपछि गाउँ रित्तिन थालेको छ। मेलापात तथा सामाजिक काम गर्न गाउँमा मान्छे नै छैनन्। मलामी नपाइने अवस्था आएको लक्ष्मीले सुनाइन्। गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन्। अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन्। “हरेक दसैँमा हरेक परिवारले परदेशिएकाको बाटो कुर्नुपर्छ। कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,” उनले भनिन्। 

२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने संकट नै संकटले झेलिरहेको छ। दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो। 

आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो। गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवा बैङ्लोर जानुको विकल्प नभएको भन्दै परदेशिए।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसंख्या भारतमा छ। गाउँ बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ। बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन्। वृद्धवृद्धा पनि कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बसेका हुन्। 

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ (आईएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ। “जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,” फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भनिन्, “बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस्। हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ।”

रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उनले बताए। छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजंगबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्छन्। भन्छन्, “सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो। कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ।”

प्रभावित बासिन्दालाई विभिन्न संघसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उनले बताए। “सरकारले जनही ५० हजारका दरले दिने भनेको छ। उक्त रकम प्रशासनमा आइसकेको भन्ने छ,” उनले भने, “त्यसका लागि कागजात तयारी गर्दैछौँ।”