जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य, अस्तित्व नै संकटमा

करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। तर, यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।

त्रिवेणी– नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर संकटमा पर्न थालेको छ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए। “स्थानीले कहिलेकाहीँ सफा गर्छन्। फेरि झार आउँछ। अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उनले भने। 

करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ। ताललाई जलकुम्भी  झारले ढाकेर अस्तित्व नै संकटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन। तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए। “पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत  ल्याएर अलि अलि काम गरेथे। पछि के भयो। त्यतिकै छाडे। ताल उस्तै रह्यो,” महतोले भने।

ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने स्थानीय केशकुमारी महतोले बताइन्। “टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो। स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,” उनले भनिन्। पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दूरीमा  रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ। बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ। 

अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो। पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि  पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो। यस अर्थमा समेत महत्त्व बोकेको ताल हिजोआज आफैँ संकटमा परेको छ।

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रूपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए। ताल संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्ने उनको भनाइ छ। ताललाई जलकुम्भी  झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए। 

वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ। कावासोती नगरपालिकाले टरुवा ताल संरक्षणमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ।