उमेरले ४० वर्ष कटेका विशेषज्ञ डाक्टरलाई म सोध्ने गर्छु, 'बाहिर आएर के गर्ने?' उहाँहरू भन्नु हुन्छ, 'जे पनि गर्न तयार छौँ।' अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो!
नेपालबाट विशेषज्ञसहितका डाक्टरहरूको बढ्दो पलायनबारे समाचार र लेखहरू पढिरहेको छु। नेपाल छाडेर लामो समय विदेश बसेको हुँदा (पहिला जर्मनी र हाल अमेरिका) नेपालको मेडिकल स्थितिबारे मैले बोल्नु उचित हुँदैन। यद्यपि मेडिकल शिक्षा अध्ययनका लागि विदेश आउँदा भोगिने दुःख र सम्भावनाबारे केही भन्न सक्छु।
नेपालबाट मेडिकल अध्ययन र सुन्दर भविष्यको खोजी गर्न आउने सबैले पहिला मानसिक तथा शारीरिक रूपमा तयार हुन आवश्यक छ। भर्खर मेडिकल पास भएर विदेश आएकाले शुरूमै राम्रो काम पाउँदैन। उनीहरूले काम पाउने नेपालको हुम्ला, जुम्लाजस्तै अमेरिकाका विकट गाउँका अस्पतालमै हो। अमेरिकाको मेडिकल संस्थाले लिने परीक्षा पास भएपछि मात्रै ‘टेक्निकल्ली’ यहाँको डाक्टर हुन्छन्। त्यसमा पनि अमेरिकाले पहिला ‘अमेरिकन ग्य्राजुएट’ विद्यार्थीलाई प्राथमिकता दिन्छ।
मेरो हकमा, मैले मेडिकल डिग्री जर्मनीको ह्यानोभर मेडिकल युनिभर्सिटीबाट गरेको हुँ। सोही कारण अमेरिकामा मेरो अध्ययनलाई युरोपियन डिग्रीको मान्यता दिइयो। यद्यपि अन्य कुनै देशमा बसी, अध्ययन गरी, प्रोफेसर हुनु मेरो लागि पनि सहज थिएन। नेपालको मेडिकल डिग्रीलाई भने खास मान्यता दिँदैन। नेपालबाट आएकाहरूले गर्ने भनेकै ‘प्राइभेट प्राक्टिस’ हो।
अमेरिका अथवा अन्य कुनै विकसित देश गएर जीवन सफल हुनुको मानक घर र गाडी मात्र हो भने यहाँ जसको पनि हुन्छ। घर र गाडी खरिदको व्यवस्था देशको ‘सिस्टम’ले नै गरिदिन्छ, टन्नै पैसा कमाइ रहनु पर्दैन। गाह्रो भनेको आफ्नो व्यवासायिक क्षेत्रमा माथि पुग्न हो। त्यसै पनि अमेरिका तथा युरोपेली मुलुकमा ‘नन–ह्वाइट’हरूलाई प्रगति गर्न प्रशस्त अवरोध छन्।
विदेशमा पैसा बढी कमाइएला, घर–गाडी होला, त्यसैले बाहिर आउनासाथ सजिलो हुन्छ भन्ने सोच हटाउँदा हुन्छ। यहाँ एक्लै भइन्छ। त्यो बुझ्नु पर्छ। मेडिकल विद्यार्थीहरूलाई म २–३ वर्ष नेपालमै संघर्ष गर्न आग्रह गर्छु। हुँदैभएन भने विश्वमा अवसर प्रशस्त छन्, क्षमता र लगन हुनुपर्यो।
सामान्यतः एउटा विद्यार्थीले एमबीबीएस सकाउँदा र अभ्यास गर्दा ३० वर्षको छेउछाउ पुगिसकेको हुन्छ। उनीहरूले मात्र होइन धेरै विशेषज्ञ डाक्टरहरूले पनि विदेशतिरको परिस्थितिबारे सोधखोज गरिरहनु भएको हुन्छ। ४० वर्ष उमेर कटेका विशेषज्ञ डाक्टरहरूलाई म सोध्ने गर्छु, “बाहिर आएर के गर्ने?”
उहाँहरू भन्नु हुन्छ, “जे पनि गर्न तयार छौँ।” अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो।
म नेपाल फर्किन चाहन्थेँ...
प्राथमिक तहदेखि नै मेरो पढाइ राम्रै थियो। स्कुलदेखि डाक्टरी अध्ययनसम्म प्रायः परीक्षामा टप नै गरेँ। सबै तह छात्रवृत्तिमा पढेँ। एसएलसीमा स्कुल बोर्डमा आएको हुँदा आइएस्सीमा छात्रवृत्ति पाएँ। एमबीबीएस पनि खुला प्रतियोगितामार्फत भारतको कलकत्ता विश्वविद्यालयमा सन् १९८५ देखि निःशुल्क पढेँ। ६ वर्षपछि नेपाल आएँ। त्यसपछि ६ महिन टेकुमा काम गरेँ।
यसबीचमा लोकसेवाको परीक्षा दिएँ, त्यसमा पनि उत्कृष्ट ठहरिए। मेरो पोस्टिङ वीर अस्पतालमा भयो। वीर अस्पतालमा जनरल सर्जनको रूपमा नियुक्ति भयो। तर मैले जर्मनीमा ‘कार्डियाक सर्जरी’को लागि ‘रोयल रेजिडियन्ट सर्जरी डाक्टर’को फेलोसिप पाएँ। रेजिडेन्ट डाक्टरको रूपमा जर्मनी ६ वर्षको लागि जानु पर्ने भयो।
नेपाल र भारतबाहेक अन्य देशमा यस्ता अध्ययनको लागि ६ वर्ष लाग्छ। मैले मेरो अध्ययनको लागि बिदा माग्दा तीन वर्षको मात्र अनुमति पाएँ। नेपालले आफ्नो नीतिनियम बनाउँदा भारतबाहेक अन्य देशको व्यवस्थालाई हेर्दैन रहेछ जस्तो लाग्यो। त्यसपछि मैले नेपालको जागिरभन्दा जर्मनीको अध्ययनलाई प्राथमिकता दिएँ।
मैले २००२ मा रेजिडेन्सी डाक्टर सकाएँ, सन् २००५ मा कार्डियाक सर्जरीमा पीएचडी गरेँ। तीन वर्षको अवधिमा मलाई जर्मनीको ह्यानोभर मेडिकल युनिभर्सिटीले मलाई सर्जरी विभागकोे निर्देशक बनाइसकेको थियो।
त्यति बेला गंगालाल मुटु अस्पताल शुरू हुन लागेको थियो। म जर्मनीको काम छोडेर फर्किन तयार थिएँ। कोशिश पनि गरेँ। नेपाल आएर एक महिना गंगालाल तथा स्वास्थ मन्त्रालय धाँए। मैले पुनः लोकसेवाबाट परीक्षा दिएर मेडिकल अफिसरबाटै काम शुरू गर्नुपर्ने भनिएपछि फेरि जर्मनी गएँ।
नेपाल आउनुअघि मैले जर्मनीको अस्पताललाई बुझाएको राजीनामा स्वीकृत गर्न खोजिरहेको थिएन। कारण, उनीहरूलाई म र मेरो कौशलता चाहिएको थियो। सोही कारण उनीहरूले पहिला मलाई आजीवन (६० वर्षसम्म)को लागि एउटा सम्झौता गरायो जसमा म उक्त अस्पतालमा जति बेला पनि फर्कन सक्थेँ। त्यसैले फर्केर त्यहीँ गएको थिएँ।
सन् २०१८ मा मलाई अमेरिकास्थित मेयोको एओर्टिक सर्जरी विभागको ‘डाइरेक्टर’ बनाउने प्रस्ताव आयो। त्यस बेलामा खासै वास्ता गरिनँ। चार वर्षपछि सन् २०२२ मा फेरि मेयोबाट प्रस्ताव आउँदा मैले स्वीकार गरेँ।
मैले यो किन भनिरहेको छु भने ह्यानोभर, मेयो जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालय र अस्पताललाई दक्ष कामदार चाहिए जसरी पनि मिलाउने रहेछन्। अमेरिकामा कोही मानिस आउनजान भिसा गाह्रो हुँदा मेयोले आफ्ना केही प्रावधान मेरै लागि खुकुलो बनाइदियो। अमेरिका टेकेको पहिलो दिन नै मलाई मात्र होइन मेरो सम्पूर्ण परिवारलाई उनीहरूले ग्रीनकार्ड दियो। एओर्टिक सर्जरी सेन्टरको मलाई डाइरेक्टर बनाइदियो। मेयोले मेरो लागि यस्तो किन गर्यो? किनकि उनीहरूलाई थाहा थियो, ‘यो मान्छे हामीलाई चाहिन्छ।’ दोस्रो, मेयो क्लिनिकका लागि दक्ष जनशक्तिको कमी त थिएन होला तर उनीहरूलाई मेरो सीप चाहिएको थियो।
अरूको देशले बरु आफ्नो नियमले तोकेको प्रावधानमा विशेष व्यवस्था गर्दा रहेछन्, नेपालमा फर्किएर केही गर्छु भन्दा नियमहरू देखाएर रोकिँदो रहेछ।
गैरराजनीतिक पदमा राजनीतिक दबाब
म नेपाल फर्किनका लागि गंगालाल अस्पतालको निर्देशक खोजेको थिइनँ। मैले त ‘कन्सल्टेन्ट’ पदमा नियुक्ति चाहिएको थियो जुन मेरो योग्यता र क्षमताअनुसार जायज नै थियो। विश्वको उत्कृष्ट विश्वविद्यालयमा कामकै आधारमा ‘कन्सल्ट्यान्ट’ हुँदा नेपाल आएर गंगालालमा किन हुन सकिन?
एक महिना गंगालाल धाएपछि एक दिन मन्त्रालयका तत्कालीन सचिव डा. दीर्घसिंह बमले मलार्ई छुट्टै कोठामा लगेर दुई प्रश्न सोध्नुभयो। “तपाईंले जर्मनीबाट फर्कन चाहनुभएको राम्रो कुरा हो तर मलाई खुलस्त भनिदिनुहोस् तपाईं कुनैको पार्टीको सदस्य हुनुहुन्छ वा कुनै पार्टीको सदस्य बन्न चाहनुहुन्छ?”
मैले एक शब्दमा भने, “छैन।”
उहाँले फेरि भन्नुभयो, “अहिलेको नेपालको अवस्थामा यदि तपाईं कुनै युनियनमा हुनुहुन्न भने तपाईंले कुनै पनि पद पाउनुहुन्न। तपाईंले जति नै राम्रो काम गरे पनि, जहाँ धाए पनि तपाईंलाई राम्रो भन्ने र घुमाउने मात्र हो। तपाईंको काम हुँदैन।”
उहाँले मलाई जर्मनी नै फर्कन सल्लाह दिनुभयो। नेपालमा बसेर काम गर्ने मेरो इच्छा पूर्ण भएन। सन् २००६ मा म ह्यानोभरमै फर्किएँ। तर अझै पनि मनदेखि लाग्ने भनेको नेपाल गएर पनि केही गर्न सकिनँ भन्ने हो।
मेरो चाहना विदेश थिएन। बाहिर काम गर्दा पैसा नहुने होइन तर आफ्नै देशमा काम गर्ने इच्छा थियो। तर फर्केर आउँछु भन्नेलाई पनि मौका हुँदैन। तर सबै फर्कन चाहन्छन् भन्ने मेरो दाबी छैन।
मैले यी सबै भन्नुको अर्थ यसरी बुझाउन चाहान्छु– कुनै पनि अस्पतालको उपकुलपति, निर्देशक, प्राध्यापक को बन्ने भन्ने कुरा अस्पताल प्रशासनको हातमा हुन्छ। कि त मेडिकल या त एकेडेमिक हुन्छन्। नेपालमा भने सिधै राजनीतिक गन्ध मिसिन्छ।
म जर्मनीमा काम गरिरहेको मान्छेलाई अमेरिकाको मेयो अस्पतालले बोलाउँदा कुनै राजनीतिक पाटो देख्दिनँ। यहाँ मलाई कसैले यहाँको नागरिक बन, यहाँको यो पार्टीमा सदस्यता लेउ, समर्थक बन भन्ने सर्त राखेनन्। नेपालमा पनि यस खालको अभ्यास जरुरी छ।
मेडिकल नियुक्तिमा एउटा प्रणालीको व्यवस्था हुनुपर्छ, सोही अनुसार जनशक्ति लिइनुपर्छ। अझ खुला प्रतिस्पर्धा भए राम्रो। गैरराजनीतिक नियुक्ति प्रशासनिक प्रणालीअन्तर्गत हुनुपर्छ।
कुनै पनि मेडिकल संस्थाको पदाधिकारीमा नयाँ नियुक्ति गर्नु परे ६ महिनाअघि नै खुला प्रतिस्पर्धाका लागि खुलाउनुपर्छ। त्यसो हुँदा चिकित्सा अभ्यास गरिरहेका डाक्टरहरू पनि आफ्नो लगावप्रति आशावादी हुन्छन्। कसैलाई राजनीतिमा लगाव होला त्यो फरक विषय हो तर सबै मानिस राजनीतिमा इच्छुक हुन्छन् भन्ने हुँदैन। डाक्टरलाई पलायन भएको आरोप लगाएर मात्र हुँदैन।
यस्ता पनि छन् समस्या
नेपाल सरकारको बजेट स्वास्थ्यमा ३ प्रतिशत हो। युरोपियन देशमा बजेटको ८ प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रमा विनियोजित हुन्छ। एमबीबीएस सकाउने विद्यार्थीले लाखौँ रकम खर्च गरेर पढ्दा उनीहरूको अधिकतम तलब ४०–५० हजार हुन्छ। अन्य विविध खर्च गर्दा उक्त रकम बढ्न जान्छ।
ऋणपान गरेर मेडिकल पढेका डाक्टरले पाउने तलबले खर्च त पक्कै चुक्ता हुँदैन। मेडिकल अध्ययनका लागि यो खर्च धेरै महँगो भयो। कि त तलब बढाउनु पर्यो, नत्र सरकारले छात्रवृत्तिमा विद्यार्थीहरूलाई पढाउनु पर्यो। उक्त सुविधाको साटोमा नेपालका विभिन्न क्षेत्रमा खटाउन सकियो।
नेपालमा पढेका डाक्टर बाहिर जानु भनेको गाउँबाट मानिस शहर आएजस्तै हो। मानिस सदैव राम्रो अवसर र मौकाको खोजीमा हुन्छ त्यो गलत होइन। त्यसैले कानूनी प्रावधानमा कडाइ गर्ने होइन आफ्नै भूमिमा अवसरहरूको सिर्जना गरिनु पर्छ।
अर्को समस्या, २० वर्षअघिको दरबन्दी हो। करारमा कतिन्जेल डाक्टरले काम गर्लान्! अधिक अध्ययन खर्च र न्यून तलबबीच जागिरमा स्थायित्व नहुँदा उनीहरूको प्रोत्साहनाको पाटो कहाँ रहन्छ?
नेपालमा डाक्टर कुटपिटको विषय पनि अर्को खतरा देखिएको छ। सुरक्षाको विषय बलियो हुनुपर्छ। अमेरिकालगायत देशमा डाक्टरको उपचार चित्र नबुझ्दा अथवा लापरबाही भए सिधै मुद्दा गरिन्छ। मेडिकल काउन्सिलले त्यसमा भाग लिएर, तथ्यगत अध्ययन, अनुसन्धान गर्छ। नेपालको कानूनमा पनि यो लिखित व्यवस्था छ। भएका व्यवस्था लागू हुनु पर्छ। जे गर्न पनि एकपटक काठमाडौँको माइतीघरमा आएर धर्ना बस्नु राम्रो होइन।
सकारात्मक पाटो
नेपालको मेडिकल शिक्षाको विषयमा नकारात्मक व्याख्या मात्र गर्दा त्यो अन्यायपूर्ण हुन्छ। सञ्चारमाध्यमहरूले पनि नकारात्मकसँगै सकारात्मक पक्ष पनि सम्प्रेषण गर्नु पर्छ। नेपाललाई म सकारात्मक दृष्टिले नै हेर्छु।
पहिले राम्रो थियो भन्नेहरूले शायद त्यस समयको कठिनाइ अनुभव गर्नुभएको छैन। मेरो पालामा एउटा पनि मेडिकल कलेज नेपालमा थिएन। चिकित्सा शिक्षाको पढाइ त्रिभुवन शिक्षण अस्पतालमा पछि मात्र शुरू भयो। सोही कारण हामी बाहिर पढ्न जानु परेको थियो। अहिले धेरै मेडिकल कलेज छन्, नेपालमा मेडिकल शिक्षा धेरै राम्रो भइसकेको छ।
त्यस बेला विदेश पढ्न गएका हामी सबै नेपाल फर्किएर आउथ्यौँ। केही अपवादबाहेक विदेशतिरै बस्ने चलन थिएन। म भारत र जर्मनीमा पढ्नै गएको थिएँ। पढाइ सकाएर नेपालमा काम गर्न गएको थिएँ। तर त्यसबेलाको परिस्थितिले सम्भव भएन। अहिले अनेकन् कारण छन्। यद्यपि म बाहिर बसेको मानिसले ती कारणबारे आलोचना गर्न सुहाउँदैन।
अमेरिकास्थित मेयो अस्पतालको कार्डियोभास्कुलर मेडिसिनअन्तर्गत एओर्टिक सेन्टरका निर्देशक डा. श्रेष्ठसँगको कुराकानीमा आधारित
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
