हात्ती धपाउन स्थानीयवासीलाई साइरन

शिवसताक्षी नगरपालिका–१, ८, ९, १० र ११ का जंगलसँग जोडिएका गाउँमा हात्तीले आतंक मच्चाउँदै आएका छन्।

झापा– जंगली हात्तीले दैनिकजसो गाउँ पसेर आतंक मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ।

जंगली हात्तीले गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन १० थान साइरन वितरण गरेको हो।

वडाध्यक्ष सन्त फेउदिनका अनुसार पूर्व–पश्चिम राजमार्ग उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्ने गरेका छन्। 

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्,” वडाध्यक्ष फेउदिनले भने, “साइरनको आवाजले हात्ती पनि भाग्छ।” फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जंगलमा हाल १० हात्ती छन्। उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए। 

गएको दुई महिनादेखि शिवसताक्षी–१, ८, ९, १० र ११ का जंगलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मच्चाउँदै आएका छन्। शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रमणबाट पछिल्लो दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ।