विद्रोही सशस्त्र समूहबाट बच्न म्यान्मारका करिब ३०० सैनिक भारतमा

आफ्नो शिविरमा विद्रोही सेनाले आक्रमण गर्ने डरले त्यहाँबाट भागेर म्यानमार सैनिक मिजोरमको लांगटाइल जिल्लाको बांडुकबांसोरा गाउँमा आएर बसेका छन्।

म्यान्मारको जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट बच्न करिब ३०० म्यानमार आर्मी (एमए) सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी दिएका छन्।

कर्मा नदी क्षेत्रमा अवस्थित आफ्नो शिविरमा विद्रोही सेनाले आक्रमण गर्ने डरले त्यहाँबाट भागेर उनीहरू मिजोरमको लांगटाइल जिल्लाको बांडुकबांसोरा गाउँमा आएर बसेका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गत नोभेम्बरमा त्यहाँको विद्रोही समूह अराकान आर्मी (एए)ले म्यानमार सेनाको शिविरमाथि आक्रमण गरेपछि म्यान्मारको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख शहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो।

आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भन्नुभयो, “हतियार र गोलाबारुदसहित कूल २७६ म्यानमार सैनिक बोन्डुकबांसोरा गाउँमा आइपुगेका छन्।” उनीहरूमध्ये कतिपय घाइते अवस्थामा रहेको उनले बताएका छन्।

“हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौँ,” उनले भनेका छन्, “आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ।”

अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा संकलन गरिरहेको छ र उनीहरूलाई म्यान्मार फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमारका अन्य सयौँ सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन्। द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन्।

गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसंख्यक सशस्त्र समूहको गठबन्धनले म्यान्मारको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै शहरहरू कब्जा गरेको थियो र चीनको सीमामा रहेका महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू कब्जा गरेको थियो।

गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ। तर, यो सम्झौता भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू नहुने बताइएको छ। ती क्षेत्रमा यो साता पनि सेना र विद्रोहीहरूबीच लडाइँ चलिरहेको छ।