राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छः ऊर्जामन्त्री

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनीलगायत अन्य सदस्यहरूले पनि गाैरवका आयोजनाका विषयमा प्रश्न उठाएका छन्।

काठमाडाैँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन्। शुक्रबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए।

मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनशाय नरहेको उल्लेख गरे। विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको ध्येय नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो। उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए।

"अब राष्ट्रिय गौरवको आयोजनाहरू भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रूपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो। तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरूको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिस्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ," उनले भने, "यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ। अझ हामी त साथीहरूलाई ६ महिना त्यही बसेर काम गरिदिनुस् भनेर अनुरोध गरी राखेका छौँ। दुई वर्ष पुगेका वा नपुगेर पनि हामीकहाँ सरुवा माग्न आइरहेका साथीहरूलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस्न भनेर हामीले अनुरोध नै गरिरहेका छौँ।"

बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दू कडरियाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरूको काम अलपत्र नपार्न सरकारलाई सचेत गराइन्।

"राष्ट्रिय गौरवको आयोजना भनिएको छ। वर्षौंसम्म अलपत्र पारिएको छ। यसलाई बढी महत्व दिएर समयमै सक्ने काम होस् भन्न मैले चाहेँ," उनले भनिन्, "अर्को राष्ट्रिय गौरवको  आयोजना भनेर घोषणा गरिएको छ। अनि शुरू नै हुँदैन। जस्तो, राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको पश्चिम सेती जलविद्युत् आयोजना ३० वर्षदेखि शुरू भएको छैन।"

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की (अछामी)ले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

"देशको समृद्धिसँग अन्तरबिरोधीजस्तो महसुस हुन्छ। लागत बढिराखेको छ। खेती गर्ने युवा विदेश पलायन भइराखेका छन। जमिन टुक्रिराखेको छ। यता, राष्ट्रिय गौरवको आयोजनाहरूको अवधि लम्बिराखेको छ। भनेपछि यसले विकास गति लिन्छ कि लिन्न," उनले प्रश्न गरे।