महन्थ ठाकुरको गुनासो– अदालतले पनि मधेशलाई न्याय दिएन

उनले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरे।

काठमाडाैँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरूलाई न्याय नदिएको टिप्पणी गरेका छन्।

ठाकुरले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोसाकको सवालमा अदालतले पनि मधेशलाई साथ नदिएको बताए।

उनले सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशमा कम बजेट दिने कामसमेत भएको भन्दै मधेशमाथि भएको विभेदको बिरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताए। अध्यक्ष ठाकुरले समग्र मधेशवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरूको हितका लागि पनि आफूहरूले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे।

"विभेद जारी छ। अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरि, ड्रेसको कुरा हुँदाखेरि व्यवहारमा हामीले यो सबै कुरा पाएका छाैँ। तर जहाँसम्म वैधानिकताको प्रश्न छ, कुनै पनि भाषा, संस्कृति भएको देशमा राष्ट्रिय  पाेसाक तोक्नु उपयुक्त हुँदैन," उनले भने, "कुनै खास भाषा, खास संस्कृति कुनै खास ड्रेसलाई नेसनल ड्रेसको रूपमा हेरियो भने अरु के हुन्छ त? अरुको भाषा, अरुको संस्कृतिलाई के भन्ने त? यो अवस्था अहिले पनि छँदैछ।"