उकालो साप्ताहिक ब्रिफिङः नेपाली कार्गोमाथि भारतमा अनधिकृत असुली, युरोपको रोजगारी र पर्यटक उद्धारका नाममा ठगी

यो हप्ता, वैदेशिक रोजगारी र रोजगारीका नाममा हुने ठगी, नेपाली कार्गोमा अनधिकृत 'ईसीटीएस' शुल्क, पर्यटक उद्धारका नाममा नक्कली कागजात, अर्धवार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन लगायत 'हेडलाइन' बनेका छन्।

काठमाडाैँ– कुनै समय तत्कालीन बेलायती साम्राज्यलाई सघाउन नेपाल सरकारबाटै युवाहरूलाई लाहुरे हुन पठाइन्थ्यो। त्यसले नेपालमा केही डलर भित्रिए पनि ठूलो संख्यामा नेपालीले युद्धमा ज्यान गुमाउनुपरेको थियो।

अवस्था अहिले पनि उस्तै छ। तर अहिले लाहुरेको तुलनामा अन्य रोजगारीमा जानेहरू धेरै छन्। नेपालमा रोजगारी नपाउँदा दैनिक हजाराैँ युवा विदेश पलायन भइरहेका छन्। देशभित्र अवसरको कमी, यहाँँभन्दा राम्रो अवसर, उच्च शिक्षा आदिका लागि विदेश जान लागेकाहरूको लस्कर देखिन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। यो हप्ता उकालोमा वैदेशिक रोजगारी विशेष बन्यो। साथै पर्यटन र अर्थका विषयमा गहन रिपोर्टिङ भएका छन्।

बिहीबार प्रकाशित  'नेपालीको नयाँ रोजगार ‘हब’ बन्नथालेको युरोपः अघिअघि ठगीको जालो'ले अहिलेसम्म सरकारले युरोपका ४० देशलाई वैदेशिक रोजगारका लागि खुला गर्दा ३ देशसँग मात्र श्रम सम्झौता गरेको, र त्यसको परिणामस्वरूप त्यहाँ जान खोज्ने ठगिने र गएका समस्यामा पर्ने भइरहेको कथा बखान गरेको छ। यस् स्टोरीले ‘युरोप सपना’ बोकेकाहरू कसरी ठगिन्छन् भन्ने बताउँछ। 

यसैगरी, बाहिरिने क्रममा ठगिएका, रकम उठाउन चार महिनादेखि भौँतारिइरहेका पात्र शुक्रराजको कथा हो, 'अमेरिका पुग्ने सपनाले बिजोग'। यसमा खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिएको, र अहिले त्यही कागज बोकेर भौँतारिइरहेका स्वारको कथा समेटिएको छ।

साथै, यस रिपोर्टमा मौसमी कामदार कोरिया पठाउन दक्षिण कोरियाको कम्पनीसँग स्थानीय तहले सम्झौता गरेपछि स्थानीय र संघीय सरकारबीच अधिकार क्षेत्रको विषयमा देखिएको द्वन्द्वबारे लेखिएको छ।

वैदेशिक रोजगार र बसाइसराइका अँध्यारा पक्ष उजागर गर्ने रिपोर्टसँगै दक्षिण कोरिया जान चाहने युवाको कम खर्चमा गएर राम्रो कमाइ गर्न सकिने बुझाइबारे स्टोरी पनि समेटिएको छ। आफू र आफ्नो परिवारको भविष्य बनाउने सपना लिएर कोरिया जान ‘बायोमेट्रिक’को लाइनमा उभिएका अधिकांश २५ वर्षमुनिका युवाले किन र कसरी कोरियालाई सुरक्षित गन्तव्यका रूपमा रोजिरहेका छन् भन्ने बारे बुझ्न सकिन्छ। 

अन्त्यमा, बिदेसिने लहरबारे कलात्मक कोण दिइएको लेख ‘तल्लो बाटो’को सकस दर्शाउने ‘डंकी’ले अमेरिकाको चाहनामा नेपालीले प्रयोग गर्दै आएको अवैध बाटोको कथा बोकेको देखाएको छ। नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। चलचित्रले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमापार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।

अर्थ/बजार
पाँच वर्षदेखि नेपाली कार्गोमा अनधिकृत 'ईसीटीएस' शुल्क, १ अर्ब १४ करोड अवैध असुली
भारतीय बन्दरगाहमा ‘अनलोड’ भएका कन्टेनरलाई नेपाल छिर्ने नाकासम्म ‘ट्रयाक’ गर्न एउटा यन्त्र लगाउने गरिएको छ। ईसीटीएस भनिएको यही सेवाबापत नेपाली आयातकर्ताले प्रतिकन्टेनर ५ हजार २८० रुपैयाँ तिर्नुपर्छ।

पर्यटक उद्धारका नाममा नक्कली कागजात बनाएर भुक्तानी माग्ने 'धन्दा'
पर्यटकहरूको सूचना व्यवस्थापनका नाममा उठाइएको रकम ‘ट्रेकिङ एजेन्सी’हरूले नक्कली कागज बनाएर भुक्तानी लिने गरेको पाइएको छ। उनीहरूको यस्तो काममा ती एजेन्सीहरूको छाता संगठन ‘टान’ले सघाइरहेको छ।

६ महिनामा ३६ प्रतिशत राजस्व संकलन, अर्धवार्षिक लक्ष्यभन्दा डेढ खर्ब कम
साउनदेखि पुससम्म सरकारले ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७७.१४ प्रतिशत मात्र उठाउन सकेको छ।

जलवायु/मौसम
हुस्सु र चिसोले कष्टकर तराईको जीवन, सुधार हुन्छ कि शीतलहर नै चल्छ?
तराईका जिल्लामा हुस्सु लागेर जाडो बढे पनि शीतलहर छैन। पश्चिमी वायुको प्रभाव रहेकाले सोमबारदेखि वर्षाको सम्भावना छ। वर्षाले जाडो बढे पनि त्यसपछि हुस्सुको प्रभाव घट्न सक्ने मौसमविद् बताउँछन्।

खेल
डेभ वाट्मोरले देखेका नेपाली क्रिकेटका भविष्य अर्थात् अर्जुन कुमाल
आमाले डाक्टर वा इन्जिनियर बनाउने सपना देखिरहँदा अर्जुनका बुवाले भने क्रिकेटको ब्याट किनिदिएका थिए। १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राखेका डेभ वाट्मोर उनलाई ‘नेपालको भविष्य’ बताउँथे।

तस्वीर-कथा
टोखामा यसरी बन्छ चाकु
माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।

रोप्नेको माया र मलजल नपाएर सुक्दैछन् बिरुवा
काठमाडौँ महानगरपालिकाले शहरमा हरियाली बढाउन रोपेका बिरुवा स्याहारसुसार नपाएर मर्न थालेका छन्।

प्रोफाइल
अमेरिकामा क्यान्सरको अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक 
अध्ययनको लागि अमेरिका पुगेका डा. दिग्विजय राजा महत म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा क्यान्सरसम्बन्धी अनुसन्धानरत छन्। नेपालमा उच्च प्रविधिको क्यान्सर अनुसन्धान प्रयोगशाला बनाउने उनको सपना छ।

नाकले लेखेर पुस्तक, कविताबाट विश्वभर चिनिने चाहना
दर्शनले नाकको सहाराले मोबाइलमा १८० वटा अंग्रेजी कविता लेखेका छन्। तीमध्ये ५० कविता समेटेर पुस्तक प्रकाशन गरिसकेका छन्। जन्मदै मस्तिष्क पक्षघात भएका उनी अहिले विद्यालयको एउटा कोठामा बसेर कवितामा साधनारत छन्।

विचार
रतनपुरका रामलाल, सिरसाका रामरहिम
जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।

नैतिक शिक्षास् कक्षामा रटाउने कि व्यवहारमा देखाउने?
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्।

उपेक्षित ग्रामीण अर्थतन्त्र उकास्ने कसरी?
एकीकृत बस्ती व्यवस्थापन तथा एकीकृत सेवासुविधामा जोड दिने हो भने ग्रामीण अर्थतन्त्रका धेरै चुनौतीहरू न्यूनीकरण हुन सक्ने देखिन्छ।

गेस्ट/कलम
जलेश्वरअघि र पछिको रास्वपा
जलेश्वर बैठकपछि रास्वपा विचार, सिद्धान्त र कार्यक्रमसहितको राजनीतिक पार्टी भएको छ। जलेश्वर बैठकअघिको र पछिको रास्वपा फरक हो।

यसपालिका दुई गोप्य निर्देशन
बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई ‘गुपचुप’ भेटेझैँ यसपालि द्वारिकाज् पुगेर 'पालोक्रम'मा ओलीले जयशंकर भेटे। दोस्रो किस्तामा ओली–जयशंकरको गुपचुप १५ मिनेट भेट पनि भयो। सो भेटबारे कसैलाई अत्तोपत्तो छैन।

नेपालमा शहरीकरण: आधिकारिक स्थिति र वास्तविकता
सन् २०२१ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशत मानिस शहरी क्षेत्रमा बसोबास गर्छन्। सो तथ्य बढाइचढाइपूर्ण हो भन्ने निष्कर्ष छ।

विश्व
इजरायल–हमास युद्धमा हुथीको प्रवेशः अन्तर्राष्ट्रिय शान्ति व्यवस्थामा खलबल
लाल सागरमा सशस्त्र समूह हुथीको आक्रमणले सामुद्रिक व्यापारमा बाधा सिर्जना भएको छ। यसैबीच अमेरिका र बेलायतसहितको गठबन्धनले हुथीमाथि आक्रमण गर्दा विश्व शान्ति नै खलबलिने विज्ञहरूको भनाइ छ।

संकृति/सम्पदा
ऐतिहासिक क्षेत्र रिडी कसरी बन्यो रूरू?
रूरू गाउँपालिकामा पर्ने रूरू धामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। तर रूरू भने वराह पुराणसँग जोडिएको नाम हो। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ।