लापसे गरेर गाडी चलाउने ७ जना चालक नियन्त्रणमा

उपत्यका ट्राफिक प्रहरीले शुक्रबार काठमाडौँको नागढुंगामा जाँच गर्दा एकै दिन ७ जना पक्राउ परेका हुन्।

काठमाडाैँ– लागुपदार्थ सेवन (लापसे) गरी गाडी चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका ट्राफिक प्रहरीले शुक्रबार काठमाडौँको नागढुंगामा जाँच गर्दा एकै दिन ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बा २ ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका १ का ३५ वर्षीय मिनबहादुर तामाङ र बा ३ ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला रहेका छन्। यस्तै, बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर, लु २ ख ३३५२ नम्बरका ट्रक चालक पश्‍चिम नवलपरासीको बर्दघाट नगरपालिका २ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका ८ का ३० वर्षीय प्रजय कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

यसरी गाडी चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।