रुकुम पश्चिमका २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता

रुकुम पश्चिममा १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ निर्माणाधीन छन्।

त्रिवेणी– जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका २६ हजार ५७३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। उनीहरूले अस्थायी आवास निर्माणका लागि जनही २५ हजार रुपैयाँ प्राप्त गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार ७३२ र कम मुसीकोट नगरपालिकामा ८५८ लाभग्राहीले उक्त रकम पाएको बताए।

सानीभेरी गाउँपालिकामा पाँच हजार ४३२, त्रिवेणी गाउँपालिकामा दुई हजार ७७२, चौरजहारी नगरपालिकामा ६ हजार १६५ र बाँफीकोट गाउँपालिकामा एक हजार ६९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। 

उनका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म २५ हजारका दरले ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार ४०६ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७३ करोड ५१ लाख ५० हजार पठाएको छ। लाभग्राही पहिचान भएका दुई हजार ८३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ।

जिल्लामा हालसम्म १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ निर्माणाधीन रहेको बढुवालले जानकारी दिए।

लाभग्राहीको संख्या आउने क्रम जारी रहेकाले यो संख्या ३० हजार ५०० पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुमान गरेको छ।