पाँचथर अस्पताल: स्तरोन्नति भयो, दरबन्दी र जनशक्ति छैन

१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्। 

पाँचथर– पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बित्यो। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्। 

कोशी प्रदेश सरकारले अस्पताललाई २०७९ भदौमा ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो। स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले स्वीकृत गर्न सकेको छैन। विगतमा १५ शय्यामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त छ।

आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गुणस्तरीय बन्न नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापाले बताए। २०४५ सालमा स्थापित २०६९ मा संशोधित व्यवस्थाअनुसार ३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ। जसमध्ये हाल १७ पद रिक्त छ। अस्पतालले दरबन्दी करारमा १४ जना, प्रदेश करारमा १० जना, छात्रवृत्ति करारमा छ जना, कार्यक्रम करारमा १० जना, स्वास्थ्यकर्मी करारमा तीन जना र अस्पताल विकास समिति करारमा ३१ जना कर्मचारी नियुक्त गरी ५० शय्याको सेवा दिँदै आएको छ।

जनशक्ति अभावकै कारण विशेषज्ञ सेवा सञ्चालन, उपलब्ध भएका भेन्टिलेटर र सघन उपचार कक्ष (आईसीय) सञ्चालनसमेत हुन नसकेको डा. थापाले जानकारी दिए। यहाँ पाँचथरसहित तेह्रथुम र ताप्लेजुङका सेवाग्राही आउँछन्। 

यस अस्पतालमा आएका सेवाग्राहीको तथ्यांकले पनि यस अस्पतालको सुधार अपरिहार्य रहेको देखाउँछ। गत आवमा आकस्मिक सेवाबाट २९ हजार ९४२ जना, बहिरंग सेवाबाट ७२ हजार १९५ जना, अन्तरंग सेवाबाट तीन हजार ३१० जना, आमा सुरक्षा कार्यक्रम सेवाबाट एक हजार १२१ जना लाभान्वित भएको तथ्यांक छ।

यस्तै सुरक्षित गर्भपतन सेवाबाट ६८६ जना, नवजात शिशु विशेष उपचार सेवाबाट ५८ जना, शल्यक्रिया सेवाबाट दुई हजार १७ जना, रेडियोलोजी सेवाबाट २१ हजार ६६५ जना, ल्याब सेवाबाट १८ हजार ४२ जना, एकद्वार संकट व्यवस्थापन केन्द्र सेवाबाट ५५ जना, सामाजिक सेवा एकाइबाट एक हजार ६७० जना, मेडिको लिगल सेवाबाट २३४ जना, हेमोडायलाइसिस सेवाबाट चार जना सेवाग्राही लाभान्वित भएका छन्।

सेवा प्रवाहको क्षेत्र ठूलो रहेको अस्पतालमा दरबन्दी र जनशक्ति अभाव, कर्मचारी आवासको उपयुक्त व्यवस्था नहुनु, समयसापेक्ष तालिमको अभाव, अस्पतालको घेराबारा हुन नसक्नु, अस्पतालमा पर्याप्त एम्बुलेन्स अभावजस्ता समस्या रहेको मेडिकल डा. थापाले बताए।