हात्तीले दैनिक घर भत्काउँछ, चिसोमा रात कटाउन बाध्य छन् स्थानीय

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकामा जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्।

फाइल तस्वीर।

झापा– जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जंगली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन्। 

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्। यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन्। 

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ। हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ। 

कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्नसमेत खाएको थियो। स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काइदिँदा उनीहरू संकटमा परेका छन्। “अन्न त खायो, तर घर नै भत्काइदिएपछि अब कहाँ बस्ने,” स्थानीय देवलाल राजवंशीले भने, “शीतलहर चलेको छ, तत्काल बनाउने पैसासमेत छैन।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म जंगली जनावरबाट ४८ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। हात्तीले ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको जनाएको छ। हात्तीले घर भत्काएमा सरकारले १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।