चन्द्रमामा यान अवतरण गर्ने पाँचौँ देश बन्यो जापान

यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन्।

जापानले चन्द्रमामा आफ्नो यान सफलतापूर्वक अवतरण गरेको छ। यससँगै चन्द्रमामा यान अवतरण गर्ने जापान पाँचौँ देश बनेको छ।

‘स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन’ (स्लिम) नामक मानवरहित यान शुक्रबार राति १२:२० मा अवतरण गरेको जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी जाक्साले जनाएको छ। 

तर, उक्त यानको सोलर प्रविधिले काम नगरेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुनेछ। “स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन घण्टौँसम्म मात्र टिक्छ,” जाक्साका अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने।

ब्याकअपको सहयोगमा चन्द्रमाका तस्वीर, चट्टान संकलन तथा अनुसन्धानका अन्य गतिविधि भइरहेको जाक्साले बताएको छ। यसअघि अमेरिका, सोभियत संघ, चीन र भारतले चन्द्रमामा यान अवतरण गरेका थिए। 

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन्। क्रस ल्यान्डिङ, सञ्चारमा समस्या र अन्य प्राविधिक समस्या व्याप्त छन्। 

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि मिसन असफल भएको थियो। नासाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत चालक दल भएको चन्द्र मिसनको योजना पनि स्थगित गरेको छ। 

यसअघि एउटा सार्वजनिक र एउटा निजी गरी दुईवटा जापानी यान चन्द्रमामा पठाउने दुई वटै प्रयास असफल भएका  थिए।