अस्ट्रेलिया जाने मौका छाडेर च्याउ खेतीमा जमेका वीरबहादुर

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।   

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अस्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्। कृषि जेटीए पढेका उनी पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन्।

घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अस्ट्रेलिया जानका लागि आवेदन दिए। “स्वदेशमा नै स्वरोजगार भएर बस्ने इच्छा थियो,” उनले भने, “त्यही भएर कृषि जेटीए पढेँ। विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागेँ।”

रानाले वर्षमा २० लाखदेखि २७ लाख रुपैयाँसम्मको च्याउ बिक्री गर्दै आएको बताए। सोबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर १० लाख जति रकम बचत गर्दै आएको बताए। च्याउ खेतीमा ३० लाखभन्दा बढी लगानी गरेका छन्।  

दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्किने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त हुन्छन्। च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको १२ लाख अनुदान रकमबाट उनले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गरेका छन्। 

प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गर्दै आएका छन्। हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसो बीचको मौसममा पिंकी जातको च्याउ रानाले उत्पादन गर्दै आएका छन्। 

“यस वर्षको साउनदेखि हालसम्म पिंकी चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ,” रानाले भने, “पिंकी ४०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भयो। कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो १३० का दरले बिक्री भएको छ।”

उका अनुसार टनेलमा अझै ६० देखि १०० क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा छ। स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन। कन्या च्याउ जस्तै पिंकी र मिल्की च्याउको उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको रानाले बताए।

“दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु,” उनले भने, “उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ।” नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटर जडित ‘फोगर सिस्टम’ खरिद गरेका छन्। 

“पहिला च्याउ उत्पादन गर्न बीउसहित राखिएका परालका पोकामा हातैले ट्यांकीबाट पानी छर्कने गरेका थियौँ,” उनले भने, “एकजना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युत्‌को स्विच थिच्ने बित्तिकै स्वचालित रूपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्छ।” सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उनको भनाइ छ।

रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाई देखेर दंग छन्। परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गर्दै आएका छन्। भविष्यमा च्याउको बीउ उत्पादन गर्न ‘ल्याब’ स्थापना गर्ने सोच पनि राखेका छन्। हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गर्दै आएका छन्। 

उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गर्दै आएको उनले बताए। आठ जनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाए। च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको उनले बताए।  

वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउँछन्। “च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाउनुभएको छैन। वडालाई चिनाउनुभएको छ,” उनले भने, “राना नगपालिकाकै गर्व गर्ने पात्रका रूपमा हुनुहुन्छ।”