भिजिट भिसामा गएर यूएईमा अलपत्र परेका एक जनाको उद्धार

विगत दुई महिनादेखि बिरामी परेका उनलाई कम्पनीले नेपाल फर्किन दिएको थिएन, उल्टै पासपोर्ट रोकेर राखेको थियो।

काठमाडाैँ– भिजिट भिसामा यूएई गएर अलपत्र परेका दाङका तिलक भट्टराईलाई उद्धार गरिएको छ। गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् (एअनआरएनए–एनसीसी) यूएईले उनको उद्धार गरेर शुक्रबार नेपाल पठाएको हो।

६ महिना पहिले भिजिट भिसामा यूएई गएर त्यहाँको एक क्याटरिङ कम्पनीमा काम गर्दै आएका तिलक विगत दुई महिनादेखि बिरामी थिए। उपचारको लागि कम्पनीले कुनै वास्ता नगरेपछि अवस्था झनै नाजुक बनेको एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले बताए।

उनका अनुसार तिलकका परिवारले नेपाल फर्काइदिन कम्पनीलाई आग्रह गर्दा पनि कम्पनीले नपठाएको र उल्टै पासपोर्ट नदिएर रोकेर राखेको थियो। कम्पनीले १२ हजार दिर्हाम दिएपछि मात्र पासपोर्ट फिर्ता दिने सर्त राखेको थियो। उक्त रकमको नेपाली झन्डै साढे चार लाख रुपैयाँ जति हुन्छ। त्यति रकम तिर्न सक्ने अवस्था उनको परिवारको नभएपछि सहयोग गरिदिन एनआरएनए यूएईलाई आग्रह गरेकोमा संस्थाले उनको उद्धार गरी हवाई टिकट काटेर नेपाल पठाएको थापाले बताए।

पछिल्लो समय भिजिट भिसामा खाडीका विभिन्न देशमा गएर त्यहाँ रोजगारीमा संलग्न हुँदा नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ। वैदेशिक रोजगारीको लागि हो भने श्रम स्वीकृति लिएर मात्रै जान सरकारले आग्रह गर्दै आएको छ।