सिरियामा इरान निकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, ४ सैन्य सल्लाहकारको मृत्यु

इरानको सरकारी टेलिभिजनले यसलाई इजरायलले गरेको 'आतंकवादी हमला' भनेको छ।

इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी ४ जनाको मृत्यु भएको इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी)ले जनाएको छ।

इजरायली क्षेप्यास्त्र आक्रमणमा इरानसमर्थित नेताहरूको बैठक भइरहेको चारतले भवनलाई निशाना बनाइएको थियो। उक्त आक्रमणमा इरानका चार जना सैन्य सल्लाहकारको मृत्यु भएको आईआरजीसीले जनाएको अलजजिराले लेखेको छ। घाइते एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ। 

सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका आईआरजीसी र इरान समर्थक प्यालेस्टिनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ।

आक्रमण शुक्रबार राति भएको बताइएको छ। सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ। इरानको सरकारी टेलिभिजनले यसलाई इजरायलले गरेको 'आतंकवादी हमला' भनेको छ।

पूर्ण रूपमा भत्किएको भवनको भग्नावशेषमुनि रहेका व्यक्तिको खोजीमा नागरिक सुरक्षा निकाय जुटेको छ। माजेह क्षेत्रमा संयुक्त राष्ट्रसंघको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन्।

एक दशकभन्दा लामो गृहयुद्धका क्रममा इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको र त्यसमा मुख्यतया इरान समर्थित सेनाका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ।

गत डिसेम्बरमा इजरायली हवाई आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड्स का एक वरिष्ठ जनरलको मृत्यु भएको थियो। सन् २०२० जनवरी ३ मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा सेनाका कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि रजी मौसवी इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन्।

सोही महिनामा पूर्वी सिरियामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना इरान समर्थक लडाकु मारिएका थिए।