काठमाडौँ महानगरको श्रमबैंकमा २ हजार आवेदन

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। श्रमबैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको श्रमबैंकमा दुई हजार आवेदन परेका छन्। गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रमबैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रमबैंक सञ्चालन गर्ने नीति लिएको थियो। यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिइन्। 

अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उनको भनाइ छ। अहिले दैनिक १५० कामदार महानगरकै विभिन्न काममा खटिएका छन् भने आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको छ।

“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भनिन्, “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रमबैंकमा श्रमिकलाई आबद्ध गराइएको हो।” उनका अनुसार महानगरले तयार गरेको श्रमबैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ।

यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन्। चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ। 

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ। श्रमबैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ।