पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति

प्रदेशसभा बैठकले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेदेखि पहिचान पक्षधर आन्दोलित छन्।

काठमाडौँ– कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्।

समितिले प्रदेश नामको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरसँग वार्ता गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए। समितिले तत्काल आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने उनको भनाइ छ। 

प्रदेशसभा बैठकले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेदेखि पहिचान पक्षधर आन्दोलित छन्। उनीहरूले मुख्यमन्त्रीदेखि मन्त्री तथा प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा अवरोध गर्दै आएका छन्।

यस्तै, बैठकले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०, सिफारिस गर्नेलगायत निर्णय गरेको छ।