प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोशीमाथि गण्डकीको सहज जित

गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।

काठमाडाैँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ।

आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२.२ ओभरमा मा १२७ रनमा अलआउट हुँदा पुलिसले जित दर्ज गर्‍यो। योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ। त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार व्यहोरिसकेको छ।

पुलिसका बलर चम्किँदा आर्मीका शिर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए। ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो। इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे। त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए। सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे।

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए। भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी पारी खेले। कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाएर २२ औँ ओभरमा पेभेलियन फर्किए।

भीम पनि २६ औँ ओभरमा आउट भए। उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टिमले जित निकाल्न सकेन। त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शून्य र दुई रनमा आउट हुँदा आर्मी अप्ठ्यारोमा पर्दै गयो। आर्मीका कप्तान विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन्। उनलाई ललित राजबंशीले १९ रनमा आउट गरे।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए। यस्तै, रसिद खानले नै अन्तिम ओभरमा शाहब आलमलाई आउट गरेर पुलिसको जित सुनिश्चित गरे। बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिन सफल भए। सागरले सात ओभरमा दुई मेडनसहित १४ रन मात्र दिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

त्यसअघि आर्मीका तिब्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लबले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो।

आर्मीको जस्तै पुलिसको शुरुवात पनि खराब थियो। १७ रनमा शुरुवाती तीन विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो। ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमै आउट भए। विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट हुँदा त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए। तीनै विकेट सोमपालले लिएका थिए।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए। आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३ औँ ओभरमा आउट भए। त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके। ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए। कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। उनी १३ रन जोड्दा रन आउट भए। अलराउण्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने। त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलमा बोल्ड भए। अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहबकै बलमा बोल्ड भए। सागर ढकाल ३ रनमा नटआउट रहे।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडनसहित मात्र १२ रन दिएर ४ विकेट लिए। विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए। शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए। तीन खेलमा जित हात पार्दै पुलिस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मी चार खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ।

कोशीमाथि गण्डकीको सहज जित
आइतबार नै सम्पन्न प्रधानमन्त्री कपको अर्को खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशमाथि १४२ रनको जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा कोशीले लज्जापूर्ण हार व्यहोर्दा गण्डकीका विपिन खत्रीले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे। गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रनमै समेटिन पुग्यो। कोशीको जारी प्रतियोगितामा छैटौं हार हो। कोशीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कप्तान अंकित सुवेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे। त्यसबाहेक कुनैपनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन्। गण्डकीको बलिङसामु कोशी निरिह बन्यो। विपिन सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए। सन्दीप पराजुलीले तीन र अंकित न्यौपानले एक विकेट विपिनलाई साथ दिएपछि कोशीको इनिङ धराशायी बन्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि शुरुवात निकै खराब रह्यो। गण्डकी ४८.२ ओभरमा एक सय ६७ रनमै अलआउट भयो। गण्डकी २१.६ ओभरमा ७३/६ को अवस्थामा थियो।

तर, मुस्कान र विपिनले इनिङ समाले। मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे। विपिनले ४२ रन जोड्दै इनिङ उकासे। उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। कमल परियारले १३ रन जोडे। गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो। कोशीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए।

फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो। तर, ब्याटिङमा भने कोशीले राम्रो गर्न सकेन र छैटौं हार सामना गर्‍यो। गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो