यू१९ विश्वकप: न्युजिल्यान्डसँग अपराजित रहेको नेपालको रेकर्डमा ब्रेक

नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।

काठमाडाैँ– यू१९ विश्वकपमा न्युजिल्यान्डसँग अपराजित रहेको नेपालको रेकर्डमा ब्रेक लागेको छ। सन् २००६ मा १ विकेट र आठ वर्षअगाडि सन् २०१६ मा ३२ रनले पराजित गरेको नेपाल तेस्रो पटकको भेटमा न्युजिल्यान्डसँग रोकिएको हो।

आइतबार सम्पन्न खेलमा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको थियो। तर, जवाफी ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै २३८ रन मात्रै बनाउन सक्यो र ६४ रनको पराजय बेहोर्‍यो।

नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्। नेपालले पहिलो पावर प्लेमा ४१ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो। 

नेपालका ओपनर दीपक बोहरा पहिलो ओभरको तेस्रो बलमै डकआउट भएका थिए। नेपालले १७ रन खातामा जोड्दा तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी पनि क्याच आउट भए। उनले २ रन मात्रै बनाए। कप्तान देव खनालले ३४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाउँदा उत्तम रंगु थापामगर र गुल्शन झा कृजमा टिकेर खेल्न सकेनन्। उनीहरू क्रमश: शून्य र २ रनमा क्याच आउट भए।

सातौँ नम्बरमा आएका दीपक बोहराले १५ रन बनाए भने सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा अविजित रहे। आकाश चन्दले भने १४ रन बनाए।

न्युजिल्यान्डका मेसन क्लार्कले सर्वाधिक ३ विकेट लिए। इवाल्ड श्रेडर र ओस्कार ज्याक्सनले २/२ विकेट लिँदा म्याट रो र ज्याक कमिंगको नाममा १/१ विकेट रह्यो।

त्यसअघि इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका स्नेहित रेड्डी स्नेहितले अविजित रहँदै सर्वाधिक १४७ रन बनाए। उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याक्सन ७५ रनमा आउट भए।

चौथो विकेटका लागि स्नेहित र ओस्कारले १५७ रनको साझेदारी गरेका थिए। टोम जोन्सन ३३, लुक वाट्सन १४ र एलेक्स थोम्पसन १३ रनमा आउट भए।

नेपालका लागि सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए। यता, गुल्शन झाले २ विकेट लिँदा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीको नाममा समान १/१ विकेट रह्यो।