भीमदत्त–१० का ललित सार्कीले घरैमा तयारी गरेर एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा गर्न नाम निकाल्न सफल भएका छन्। अब उनलाई काठमाडौँमा कसरी खाने र बस्ने भन्ने चिन्ता छ।
महेन्द्रनगर– मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको शहरमा पुग्छन्। एमबीबीएसको प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरैमा बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन्। तर, उनलाई अब काठमाडौँमा खाने र बस्ने खर्च कसरी जुटाउने भन्ने चिन्ता छ। १७ वर्षीय ललित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि जानुपूर्व स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन्।
“बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ,” ललितले भने, “हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ। मैले लगानी गरेर एमबीबीएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ।”
गाउँकै सिद्धनाथ माविबाट २०७८ सालमा एसईई उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरे। “रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ,” उनले भने, “गत साउनदेखि घरमै बसेर तयारी गरेर एमबीबीएसमा नाम निकालेँ।”
माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए। “पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक १० हजारजति जोहो गर्न पाए हुन्थ्यो,” उनले भने, “दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ।”
उनले रकम अभावकै कारण तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गरे। “परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किएँ,” उनले भने, “त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौँ।”
अध्ययनमा अब्बल उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिइएको छ। उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाले ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो।
“नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु,” ललितले भने, “सम्मानले थप हौसला प्रदान भएको छ।” भीमदत्त–१० का वडासचिव गगन नाथले ललितलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए।
“वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ,” वडासचिव नाथले भने, “वडाले अध्ययनका लागि जेहनदार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
