काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

काठमाडौँ– काठमाडौँमा सोमबार यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ।

काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसमविद् सरोज पुडासैनीले बताए। 

यसअघि गत डिसेम्बर ५ मा न्यूनतम तापक्रम ३.५ डिग्री रेकर्ड गरिएको थियो। काठमाडौँ उपत्यकामा सोमबार पारदर्शिता पनि घटेको छ। त्यसकारण बढी चिसो अनुभव भएको उनले बताए।

बिहान उपत्यकाभर हुस्सु जस्तो देखिएको थियो। पुडासैनीका अनुसार पारदर्शिता तीन हजार मिटर छ। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा पारदर्शिता पनि घटेको हो।

त्यस कारण काठमाडौँमा बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

आइतबार रेकर्ड गरिएको तथ्यांकअनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोम माइनस ५ र दोलखाको जिरी मा १ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।