रिजनको उत्कृष्ट बलिङमा बागमतीको चौथो जित

बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– रिजन ढकाल एक्लैले ५ विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

बागमतीका ओपनर ईशान पाण्डेले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर आशुतोष धिरौया ९ र कप्तान ऋत गौतम ८ रनमा आउट भए। रविन जोशी १६ र अशोक पौडल ६ रनमा अविजित रहे।

कर्णालीका दिवस पुनले ३ विकेट लिए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाएर ७९ रन बनाएको थियो।

कर्णालीका अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बागमतीका रिजन ढकालले सर्वाधिक ५ विकेट लिए। उनले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चिए।

कृजन गुरुङले २ विकेट लिँदा प्रतिश जीसी, सूर्य तामाङ र विपिन आचार्यको नाममा १/१ विकेट रह्यो। जितसँगै बागमतीले ६ खेलमा ४ जितसहित ८ अंक जोडेको छ। ५ खेल खेलको कर्णालीको ४ अंक छ।