थोरै उत्सव, अलिकति मौनता: अयोध्याका दुई रंग

नवनिर्मित राम मन्दिरको अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।

नवनिर्मित राम मन्दिरमा अभिषेकका बेला एकातिर अयोध्यामा उत्सवको माहोल छ भने अर्कातिर मौनता छाएको छ, जसले केही भन्न खोजेको देखिन्छ।

राम मन्दिरको अभिषेकको अवसरमा शहरमा रमाइलो वातावरण छ। देशका विभिन्न भागबाट हजारौँ भक्तजन आए पनि अहिले अयोध्याको नाका बन्द गरिएको छ। करिब २० हजार सुरक्षाकर्मी तैनाथ छन्। १० हजार सीसीटीभी क्यामेराले निगरानी गरिरहेको छ। यहीबीच रामको बालरूपको प्राण प्रतिष्ठा सम्पन्न भइसकेको छ।

"राम मन्दिर समग्र भारतवासीको भविष्य उज्ज्वल गर्नको लागि स्थापना भएको हो," प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गर्दै भने, "राम आगो होइनन् उर्जा हुन्, राम विवाद होइनन्, समाधान हुन्। राम हाम्रा होइनन्, सबैका हुन्, राम वर्तमान् होइनन्, अनन्त हुन्।"

अभिषेकमा देशविदेशबाट प्रतिष्ठित उद्योगी, चलचित्रकर्मी, राजनीतिज्ञलगायत कम्तीमा ७ हजार ५०० पाहुनाको उपस्थिति छ। सोमबार दिनभर पूजा आराधना गरिनेछ। प्राणप्रतिष्ठा समारोहपछि मन्दिर सर्वसाधारणका लागि खुला गरिने मन्दिरका पदाधिकारीले बताएका छन्। मन्दिरमा दैनिक ८० हजारदेखि एक लाख भक्तजन रामको दर्शन गर्न आउने विश्वास गरिएको छ।

गुजमुज्ज घरहरू र पुराना पसलहरू भएको अयोध्या अहिले रूपान्तरण भएको छ। साँघुरो सडकबाट सिधै मन्दिरसम्म पुग्ने फराकिलो चार लेनको सडक बनाइएको छ। शहरमा नयाँ विमानस्थल बनेको छ। रेलवे स्टेसन पनि विस्तार भएको छ र धेरै ठूला कम्पनीहरूले त्यहाँ होटल पनि निर्माण गरिरहेका छन्। अयोध्याले महानगरको झल्को दिइरहेको छ।

उत्सवमय वातावरण
अयोध्यामा उत्सवको वातावरण स्पष्ट छ। दिल्लीबाटै शुरू हुन्छ उत्सवको दृष्य। दिल्ली विमानस्थलमा राम मन्दिरका विभिन्न स्वरूप प्रदर्शनीमा राखिएका छन्। रामको नाममा विभिन्न चीजहरू बिक्री भइरहेका छन्। उडान भित्र, एयरलाइन्स कम्पनीको उद्घोषक 'जय श्री राम' को नारा लगाइरहेको छ। यात्रुहरूले पनि ठूलो संख्यामा एउटै नारा दोहोरिरहेका छन्। हनुमान चालिसा पनि पढाइँदैछ। नारा लगाउने र चालिसा पढ्नेमा पत्रकार पनि पर्छन्।

अयोध्याको निर्माणाधीन विमानस्थलमा पनि मन्दिरसँग सम्बन्धित पोस्टरले दर्शनार्थीलाई स्वागत गरिरहेको छ। विमानस्थलबाट बाहिर निस्कने बित्तिकै शहर जाने बाटोमा बिजुलीको पोलमा दुईवटा व्यक्तित्वको 'लाइफ साइज कटआउट' राखिएको छ– एउटा राम र अर्को प्रधानमन्त्री नरेन्द्र मोदी।

यस बाटोमा अगाडि हिँड्दै, तपाईं अयोध्याको जुम्ल्याहा शहर फैजाबादमा पुग्नुहुन्छ। शहरमा आँखाले देखेसम्म भगवा झण्डा फहरिरहेका छन्। बजारले पनि रामको नाममा नाफाको हिस्सा चाहन्छ। कम्पनीहरूले प्रचारका लागि राखिएका होर्डिङलाई पनि रामसँग जोडेका छन्।

त्यहाँ पनि मौनता छ
जनताको उत्साह पनि देखिन्छ। फैजाबादको राम मनोहर लोहिया अवध विश्वविद्यालयका विद्यार्थी तनु दुबे भन्छिन्, "अब हामी अयोध्याबाट आएकामा गर्व महसुस गर्छौं। देशमा मात्रै होइन विदेशमा पनि मानिसहरूले अयोध्यालाई यही नामले चिन्छन्। मन्दिर।" तनुका साथी र सोही विश्वविद्यालयमा अध्ययनरत हर्ष ठाकुरले मन्दिर निर्माणले आफूलाई अर्कै किसिमको खुशी मिलेको र यसले अयोध्या र त्यहाँ बसोबास गर्ने जनताको गौरव हुने बताए।

तर यस समयमा उत्सव अयोध्याको मात्र रंग होइन। अलिकति मौनता, अलिकति हिचकिचाहट, अलिकति शंका र अलिकति विरोध पनि शहरको वातावरणमा मिसिएको देखिन्छ। हर्ष ठाकुरका साथी तथा सोही विश्वविद्यालयका विद्यार्थी मोहम्मद कैफ खानको भनाइमा विरोधको आवाज त छैन, तर हिचकिचाहट भने देखिएको छ। उनी भन्छन्, "राम्रो कुरा हो। जसको हक थियो उसले पायो। उसको बारेमा के भन्न सकिन्छ। विरोध गर्न पनि सकिँदैन।"

यो दुविधाबाट गुज्रिरहेका कैफ सायद एक मात्र मुस्लिम होइनन्। स्थानीय पत्रिका जनमोर्चाका सम्पादक सुमन गुप्ता एकातिर उत्सव र अर्कोतिर सन् १९९२ को घटना देखेकाहरू भविष्यको चिन्तामा रहेको बताउँछन्। गुप्ता यो पनि बताउँछन् कि जहाँसम्म मुस्लिमहरूको सवाल छ, अयोध्या मात्र होइन सम्पूर्ण उत्तर प्रदेशका मुस्लिमहरू मौन छन्।

यस्तै, यस उत्सवलाई कतिपयले राजनीतिक मुद्दा बनाएका छन्। भारतीय राष्ट्रिय कंग्रेस यस उत्सवमा सहभागी छैन। कंग्रेस लगायत कतिपय साम्प्रदायिक दलहरूले लाखाैँ मुस्लिम समुदायको आस्थालाई भत्काएर भारतीय जनता पार्टीले वर्षाैँदेखिको आफ्नो चुनावी नारा पूरा गरेको आरोप लगाएका छन्।

डीडब्ल्यू हिन्दीको सहयोगमा