कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।

सुर्खेत– कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरीय बन्दै गएको छ। पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपणसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो। प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्डको चोट) को सफल शल्यक्रिया गरेको छ।

अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा शुभ श्रेष्ठले जानकारी दिए। उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ।

सुर्खेतमै शल्यक्रिया सेवा शुरू भएपछि कर्णालीका ढाडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा श्रेष्ठले बताउनुभयो। महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ संचालन गरेको उनले जानकारी दिए।

विसं २०७९ असारदेखि संचालनमा आएको उक्त कोषबाट स्पानल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन्। आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष संचालन गरेको जनाएको छ। 

पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा संचालन हुँदै आएका छन्। अर्थोपेडिक विभागमा हाल डा शुभ श्रेष्ठ, डा पदम गिरी, डा रवीन केसी, डा तेजेन्द्र साउद, डा किशोर कुमार विष्ट र डा हिक्मत भण्डारीसहित ६ जना चिकित्सक कार्यरत छन्।

यसैबीच हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा डम्बर खड्कालगायत अर्थोपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।