प्रधानमन्त्री कप: अपराजित रहँदै पुलिस शीर्ष स्थानमा

सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

काठमाडाैँ– अपराजित रहँदै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

पुलिस जारी प्रतियोगिता अपराजित रहने एकमात्रै टोली हो। पहिलो खेलमा पुलिसले बागमतीलाई ६८ रनले पराजित गरेको थियो। दोस्रो खेलमा कोशीलाई ७ विकेट पराजित गरेको थियो। तेस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको थियो। पुलिसभन्दा दुई खेल कम खेलेको बागमतीको पनि समान ८ अंक रहेको छ। तर, बागमती नेट रनरेटमा पुलिससँग पछाडी परेको छ।

पुलिसको नेट रनरेट १.१८० रहेको छ भने बागमतीको ०.८५३ रहेको छ। 

एपीएफमाथि पुलिसको ५८ रनको जित
पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनायो। एपीएफका सन्दीप जोराले अविजित रहँदै सर्वाधिक २५ रन बनाए। अमर रौटेलाले २३ रन बनाउँदा प्रज्वल शाहीले १३ रनमा आउट भए। एपीएफका अन्य ब्याटर चल्न सकेनन्।

पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दै ४ मेडनसहित ८ रन खर्चिए। राशिद खानले २ विकेट लिँदा सागर ढकालको नाममा १ विकेट रह्यो।

त्यसअघि भैरहवास्थति सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनायो। पुलिसका ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन बनाए। उनले ६३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। 

अर्जुन साउद ३१, शंकर राणा २२ र दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए। पुलिसका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 

एपीएफका भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए। रमेश कुर्मी र अमर रौटेलाले २/२ विकेट लिँदा मौसम ढकाल (श्याम), पूर्ण विक र रोहितकुमार पौडेलको नाममा १/१ विकेट रह्यो।