देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको छ।
म्याग्दी– भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ। अयोध्यामा करिब ५०० वर्षपछि पुनर्निर्माण भएको राममन्दिरमा सोमबार मूर्तिको प्राण प्रतिष्ठा भएको छ।
मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो। देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले बताए।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो।
“नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुको तर्कपछि अयोध्याको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ”, नगरप्रमुख केसीले भने, “रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गमस्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रवर्द्धन गर्न लागेका हौँ।”
देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताए। उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुंगालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर स्रोतको खोजी थालिएको छ।
देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो। कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्ने गर्दछन्।
कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ। पौलत्स्य र जडभरत ऋषिको तपस्यास्थल एवं कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गमस्थल धार्मिक हिसाबले धेरै महत्व रहेको हिन्दू धर्मगुरु जगद्गुरु हिमालय बाबाले बताए।
“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गरेको छ,” उनले भने, “शिला उत्खनन भएको ठाउँ धार्मिकस्थलकारूपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ।”
कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णगण्डकीका रूपमा चिन्ने गर्छन्। शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको गत वर्ष शिला लिन आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताएका थिए।
अयोध्याको राम मन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा आज देवशिला उद्गमस्थलमा पूजाआजा र एक लाख २५ हजार बत्ती बालिएको छ। देशशिला अयोध्या पुर्याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
