राम मन्दिरको उद्घाटनप्रति पाकिस्तानले जनायो आपत्ति

भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास भइरहेको पाकिस्तानको आरोप छ।

भारतको अयोध्यामा राम मन्दिरको उद्घाटप्रति पाकिस्तानले आपत्ति जनाएको छ। बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाएको भन्दै पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निन्दा प्रकट गरेको छ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ, "अयोध्यामा बाबरी मस्जिद भत्काइएको र त्यहाँ राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठाको पाकिस्तान निन्दा गर्दछ।"

शताब्दीऔँ पुरानो मस्जिदलाई भत्काउन लगाएर भारतको सर्वोच्च अदालतले त्यहाँ मन्दिर बनाउन अनुमति दिनुलाई पाकिस्तानले दुर्भाग्य बताएको छ। "६ डिसेम्बर १९९२ मा चरमपन्थीहरूको भीडले ध्वस्त पारेको थियो। दुर्भाग्यवश, भारतको सर्वोच्च अदालतले अपराधीहरूलाई रिहा गर्ने मात्र होइन, मस्जिद भत्काइएको ठाउँमा मन्दिर निर्माण गर्न पनि अनुमति दियो," विज्ञप्तिमा भनिएको छ।

पाकिस्तानले विगत ३१ वर्षका घटनाक्रमले भारतबाट मुस्लिमलाई राजनीतिक र सामाजिक रूपमा सीमान्तकृत गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ। भारतमा धार्मिक बहुसंख्यकवाद बढिरहेको भन्दै भत्काइएको मस्जिदको स्थानमा बनेको राम मन्दिर लामो समयसम्म भारतको लोकतन्त्रमा दाग रहने विज्ञप्तिमा उल्लेख छ। साथै भारतमा बढ्दो 'इस्लामोफोबिया'को विषयमा अन्तर्राष्ट्रिय संस्थाहरूले ध्यान दिनुपर्ने जनाएको छ।

?: PR NO. 2️⃣4️⃣/2️⃣0️⃣2️⃣4️⃣

Pakistan Condemns Consecration of the ‘Ram Temple’ on the Site of Demolished Babri Mosque

?⬇️https://t.co/s3zJmZMhzN pic.twitter.com/X5rYshPxDu

— Spokesperson ?? MoFA (@ForeignOfficePk) January 22, 2024

"वाराणसीको ज्ञानवापी मस्जिद र मथुराको शाही इदगाहलगायत यस्ता मस्जिदहरूको सूची भत्काउने खतरा बढ्दै गएको छ," विज्ञप्तिमा भनिएको छ, "भारतमा हिन्दुत्व विचारधाराको बढ्दो लहरले साम्प्रदायिक सद्भाव र क्षेत्रीय शान्तिको लागि गम्भीर खतरा खडा गरेको छ। अन्तर्राष्ट्रिय समुदायले भारतमा बढ्दो इस्लामोफोबिया, घृणित भाषण र घृणित अपराधलाई ध्यान दिनुपर्छ। संयुक्त राष्ट्रसंघ र अन्य सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूले चरमपन्थी समूहहरूबाट इस्लामिक सम्पदा स्थलहरूलाई जोगाउने प्रयासहरूमा भूमिका खेल्नुपर्छ।"