बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको ठेकेदारको दाबी छ।
नवलपुर– कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ।
गण्डकी सरकारको गौरवको योजनाअन्तर्गत गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै ठेकेदारले काम ठप्प पारेका हुन्।
निर्माण कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ। कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी भएको बताए। “बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो। सामान लैजाँदै गर्दा उहाँको ट्याक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्,” उनले भने, “बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार रुपैयाँ रकम मैले तिर्न बाँकी थियो।”
बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीको आरोप छ। “मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएको छु,” उनले भने, “मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन।” निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन्।
व्यवसायी लोहनीले करिडोरको तरंग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए। पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ। सो पुल असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा छ।
यता, आरोपी वडाध्यक्ष जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए। “निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो। छ वर्ष अगाडि मेरो ट्याक्टर लगेर काम गर्नुभयो,” उनले भने, “त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन। सम्पर्कमा पनि आउनुहुँदैनथ्यो।” लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ।
आफू जनप्रतिनिधि भएपछि घरव्यवहार छोराले हेर्ने गरेको जनाउँदै जर्घाले बताए। “छोरा गएर सामान उठाएर लिएर आउँदा ट्याक्टर दुर्घटनामा पर्यो,” उनले भने, “पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने योजना थियो।” तरंग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ।
सामान चोरी भएको विषयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। “समान हराएको विषयमा उजुरी परेको छ,” डीएसपी बेदबहादुर पौडेलले भने, “सामान लैजाँदै गरेको ट्याक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ। पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ।”
ट्याक्टर गत माघ ४ गते साँझ बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो। कालीगण्डकी करिडोरबाट करिब १०० मिटर तल खेतमा खसेको ट्याक्टरले थिचेर बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
